नेपालको उपाधि जित अधुरै

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Nepal's title win is incomplete

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका यस पटक गुमाएको छ । नेपाल मंगलबार महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले पराजित हुन पुग्यो ।

यद्यपि शीर्ष दुई स्थानमा रहँदै नेपाल र थाइल्यान्डले ट्वान्टी–२० विश्वकप छनोटमा स्थान पक्का गरिसकेका थिए । 

सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रिएयता नेपाली महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेक्रममा नेपाल १८ वर्षअघि मलेसियामा सम्पन्न एसीसी महिला क्रिकेटको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो, जुन नेपालले खेलेको एकमात्र फाइनल हो । 

अघिल्लो दिन यूएईलाई विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको थियो । ट्वान्टी–२० विश्वकप छनोटमा पुग्नु नेपाली महिला क्रिकेटको सबैभन्दा ठूलो सफलता हो । एसियाली च्याम्पियनको हिसाबमा ग्लोबल छनोटमा पुग्ने नेपालको आशा घरेलु टोली थाइल्यान्डले पूरा हुन दिएन । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाई १ सय ५८ रन बनायो । अन्तिम ५ ओभरमा ६० रन जोडेर थाइल्यान्डले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । 

भेट्रान नताया बुचाथाम र अफिसारा सुवानचोनराथीले १३ ओभरभित्र ७५ रन जोडेर उत्कृष्ट सुरुआत दिलाइन् । उनी ४३ बलमा १ चौकासहित २९ रन बनाई राजमती ऐरीको बलमा आउट भइन् । बुचाथामले ४२ बलमा ५ चौकासहित ५० रन बनाइन् । उनी मनीषा उपाध्यायको बलमा आउट भइन् । 

नानापात कोन्चारोइन्काई ५० र नथाकन चान्थम १५ रन बनाई अविजित रहे । प्लेयर अफ द म्याच नानापातले २८ बलमा ८ चौका र चान्थमले ९ बलमा २ चौका प्रहार गरे । उनीहरूको यो प्रयासपछि थाइल्यान्डलाई २०११ यता पहिलो पटक पराजित गर्ने नेपालको सम्भावना कमजोर बनिसकेको थियो । 

जबाफमा नेपालले ९ विकेट गुमाई ८० रनमात्र बनाउन सक्यो । नेपालले अन्तिम ४ विकेट ५ रनमै गुमायो । त्यसमा ओनिचा काम्चोम्फुले तल्लोक्रममा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई लगातार बलमा आउट गरेर ह्याट्रिक विकेट लिइन् । तीनै ब्याटरले खाता खोल्न भ्याएनन् । ओपनरद्वय सम्झना खड्का ९ र रुबि पोदार ४ रनमै आउट भए । कविता कुँवरले नेपालबाट सर्वाधिक २४ रन बनाइन् । ३३ बलमा १ चौका प्रहार गरेकी उनी १४ औं ओभरमा रनआउट भइन् । जतिखेर नेपालको स्कोर ५२/५ थियो । कप्तान इन्दु बर्मा ७ र पूजा महतो शुन्यमा आउट भए । ६ रन बनाउदा रिटायर्ड हर्ट भएकी राजमतीले २७ बलमा २ चौकासहित २० रन बनाइन् । रुबिना क्षेत्री १६ बलमा १ चौकासहित १२ रनमा आउट भइन् । 

काम्चोम्फुले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिइन् । थिपात्चा सुथिरुएङले ३ र सुलिपोर्न लाओमीले १ विकेट लिए ।

कान्तिपुर

Link copied successfully