एकै वडाका तीन खेलाडी र प्रशिक्षक ऐतिहासिक क्षणका सहयात्री
विराटनगर — नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक २०– ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउँदै इतिहास रचेको छ । यो ऐतिहासिक सफलताको श्रेय सम्पूर्ण टोलीलाई जान्छ । तर, यो उपलब्धिमा एउटा विशेषता छ– एउटै वडाबाट आएका तीन खेलाडी र एक प्रशिक्षक यो यात्राका साक्षी मात्र होइनन्, आधार स्तम्भ नै हुन् ।
देशको सुदूरपूर्वी सहर काँकडभिट्टाबाट उठेको सपना आज राष्ट्रिय गौरव बनेको छ । झापा मेचीनगर–६ का पूर्वकप्तान रुबिना क्षेत्री, सवनम राई र रोमा थापा (विकेटकिपर) ले राष्ट्रिय टोलीमा लामो समयदेखि योगदान दिँदै आएका छन् । उनीहरूसँगै सोही वडाका मुख्य प्रशिक्षक मनोज कटुवालले नेपाली महिला क्रिकेटलाई ऐतिहासिक मोडमा पुर्याएका छन्।
यिनै चारजनाको संगठित प्रयासले नेपालले एसिया क्षेत्रीय छनोटको सुपरथ्रीमा सोमबार यूएईलाई हराउँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।
तीन खेलाडी एउटै वडाका हुन् । रुबिना र सवनमको त टोल पनि एकै हो । तीनै राष्ट्रिय खेलाडी मिलन क्रिकेट क्लबका उत्पादन हुन् । उनीहरूले स्थानीय काँकडभिट्टा मैदानमा अभ्यास गर्दै खेल कौशल अब्बल बनाएका हुन् । सानो सहरबाट उठेका उनीहरू अब अन्तर्राष्ट्रिय क्रिकेटको ढोकासम्म पुगेका छन् ।
मेचीनगर–६ की रुबिना, सवनम र रोमा लामो समयदेखि राष्ट्रिय टिमको महत्त्वपूर्ण हिस्सा बनेर खेल्दै आएका छन् । काजोल श्रेष्ठ, संगीता राई र अपसरी वेगम पनि त्यही वडाका राष्ट्रिय क्रिकेटरहरू हुन् ।
यो प्रतियोगितामा रुबिना क्षेत्रीले कप्तान इन्दु बर्मासँग मिलेर यूएईविरुद्ध ३७ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । १८ बलमा २३ रन जोडिन् । जसले नेपाललाई जितको नजिक पुर्यायो । संकटका बेला धैर्यतापूर्वक खेल्ने रुबिनाको पुरानै स्वाभावले खेलको लय नेपालतर्फ फर्किएको हो ।
सवनम राई र रोमा थापाले पनि समूह चरणका खेलमा आफ्नो प्रदर्शनमार्फत टिमको समग्र सन्तुलन कायम राख्न सफल भए । सवनम मूलतः दायाँ हाते तीव्र गतिकी बलर हुन् । रोमा विकेट किपर ।
‘खेलाडीहरूबीचको आपसी समझदारी र टोलीमा उनीहरूको समर्पणले नेपाललाई बलियो बनाएको रुबिनाले बताइन् । भनिन्, ‘समग्र टोलीको सामूहिकताले ऐतिहासिक जित आत्मसात गरेका हौँ ।’ मुख्य प्रशिक्षक मनोज कटुवालका लागि एकै ठाउँका खेलाडीहरूलाई प्रशिक्षकको भूमिकाबाट निर्देशन दिन पाउनु भनेको उनका लागि मात्र होइन, समग्र क्षेत्रका लागि पनि प्रेरणादायी विषय बन्यो । प्रशिक्षक कटुवाल भन्छन्, ‘आज यी तीन खेलाडीको राष्ट्रिय टिममा उपस्थिति र उनीहरूको प्रदर्शन मेरो लागि मात्र नभई सिंगो देशकै लागि गौरवको विषय हो ।’
यो सफलतामा मेचीनगर–१० की रिया शर्मा पनि सामेल छिन् । एउटै नगरबाट ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गर्ने रिया चौंथौ खेलाडी हुन् । युवा उमेरमै राष्ट्रियस्तरमा पुगेकी रिया लेग स्पिनर हुन् । उनको खेल कौशल आशालाग्दो छ । भविष्यमा नेपाली महिला क्रिकेटको बलियो आधार बन्ने सम्भावना उनमा छ ।
नेपालले एसिया छनोटबाट थाइल्यान्डसँगै ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । तर, अबको यात्रा सजिलो भने छैन । १० टोलीबीचको तीव्र प्रतिस्पर्धा हुनेछ । तर, मुलुकको पूर्वी दैलो काँकडभिट्टाबाट सुरु भएको यो साझा सपना विश्वकपको दैलो ढक्ढक्याउन अघि बढेको छ । कप्तान इन्दु बर्माले भनेझैँ, ‘हामी इतिहास रच्न सफल भएका छौँ । अब हाम्रो लक्ष्य एसिया च्याम्पियन बन्ने हो र विश्वकप खेल्ने हो ।’
