‘ए’ डिभिजनमा भगवती

घरेलु फुटबलको माथिल्लो डिभिजनमा काठमाडौंको उत्तरी भेग टोखा सहरको प्रतिनिधित्व गर्दै श्री भगवती ‘बी’ डिभिजनबाट बढुवा

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Bhagwati in 'A' Division

काठमाडौँ — सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार श्री भगवती क्लबका समर्थकले जसरी बढुवाको खुसीयाली हर्षले मनाए, सबैको एउटै भनाइ थियो, यत्तिको क्लब त ‘ए’ डिभिजनमा हुनुपर्ने थियो । त्यसको अर्थ के भने अब काठमाडौंको उत्तरी भेग टोखाको पनि घरेलु फुटबलको माथिल्लो डिभिजनमा प्रतिनिधित्व हुनेछ । जतिबेला यो टिमले ‘ए’ डिभिजनमा खेल्नेछ, तिनका समर्थकहरू बाजागाजासहित उपस्थित हुनेछन् ।

सहिद स्मारक लिग ‘बी’ डिभिजनको १२ औं चरणको अन्तिम खेल बढुवा हुने दोस्रो टिमको निर्णयका लागि निर्णायक रह्यो । श्री भगवतीले ब्वाइज युनियनलाई २–१ ले पराजित गर्‍यो । टोली ‘प्रमोसन’ खान सफल रह्यो । ब्वाइज युनियनले यो खेल जितेको भए बढुवा हुने टिमको निर्णय अन्तिम चरणको खेलसम्म कुर्नुपर्ने थियो । तर, त्यस्तो केही पनि भएन । श्री भगवती क्लब आफ्नो अपराजित यात्रा कायम राख्दै दोस्रो स्थानमा रहने निश्चित भएको छ । 

प्लानिङ ब्वाइज यसअघि नै च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लने निश्चित भइसकेको थियो । ‘कडा मिहिनेतकै कारण यो सफलता सम्भव भएको हो,’ क्लबका प्रशिक्षक महेश श्रेष्ठले भने, ‘हामी सबै असाध्यै खुसी छौं । यो खुसी किन पनि विशेष भएको छ भने हाम्रो समर्थनमा जसरी समर्थक आइरहेका छन्, त्यसले हामीलाई अझ हौसला प्रदान गरेको छ । मलाई लाग्छ, हाम्रा समर्थक टिमका लागि १२ औं खेलाडी हुन् । अब सबै सँगै मिलेर खुसीयाली मनाउने छौं ।’ 

यो जितपछि श्री भगवती क्लबको २६ अंक भएको छ । अन्तिम १३ औं चरणको नतिजा जस्तै आए पनि टोलीलाई कसैले उछिन्न सक्ने छैन । ब्वाइज युनियन भने १९ अंकसहित तेस्रो स्थानमा रह्यो । प्लानिङ ब्वाइज ३० अंकमा शीर्षमा छ । यो अहिलेसम्म अपराजित रहने अर्को टिम हो । श्री भगवतीको यो जितमा छैटौं मिनेटमा शिशिर लेखीले पहिलो गोल गरे भने ३८ औं मिनेटमा अजित लामाले दोस्रो गोल थपे । 

सन्जीव लामाले ७९ औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गरेका हुन् । यो गोल सान्त्वनाभन्दा बढी केही साबित भएन । अन्त्यमा श्री भगवती बढुवाको पूरा हकदार रह्यो । भगवतीको १२ खेलमा ७ जित र ५ बराबरी रहेको छ । ‘हामी सबै बढुवाका लागि खुसी छौं र यो सबै सम्भव भएको क्लब व्यवस्थापनको राम्रो कामले नै हो,’ क्लबका कप्तान उर्केन शेर्पाले भने । उनको यो दाबीमा सहमत रहे, क्लबको यात्राका प्रमुख खेलाडी शिशिर । जितपछि उनको प्रतिक्रिया थियो, ‘बढुवा यात्रामा केही उतारचढाव पनि रह्यो ।’ 

उनले थपे, ‘केही खेलमा हाम्रो प्रदर्शन अपेक्षाअनुसार रहेन । तर हामी अपराजित यात्रा तय गर्दै बढुवाको उपलब्धि चुम्न सफल भएको छौं । हामीले निर्णायक मोडको खेलमा राम्रो गर्न सक्यौं ।’ मंगलबारकै अर्को खेलमा अन्नपूर्ण आरसीटीले वीरगन्ज युनाइटेडसँग १–१ को बराबरी खेल्यो । यो नतिजासँगै छपल्टको पूर्व ‘ए’ डिभिजन विजेता आरसीटी आफ्नो अहिलेको हैसियत बचाउन सफल रह्यो । आरसीटीले प्रज्वल गुरुङको गोलमा ४८ औं मिनेटमा अग्रता लिएपछि वीरगन्जका लागि सागर थारुले बराबरी गोल फर्काए । 

यो नतिजाको अर्थ के पनि रह्यो भने टुसाल युवा क्लब भने रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ । यसअघि नयाँबस्ती पुछारमा रहेर घटुवामा पर्ने पहिलो टिम बनेको थियो । यो जितपछि आरसीटीको १५ अंक भएको छ । टोली ११ औं स्थानमा उक्लिन सफल रह्यो । टुसालको भने ११ अंक मात्रै छ । प्रतियोगिताकै सबैभन्दा खराब टिम साबित नयाँबस्ती ५ अंकमै सीमित रह्यो । बुधबारदेखि नै १३ औं चरणका खेल सुरु हुनेछ । यसका नतिजाले टिमको अन्तिम वरीयता तय गर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully