पोखरा — पोखरेली उदीयमान टेनिस खेलाडी आर्यसराज पौडेल श्रीलंकामा आयोजना हुने एटीएफ यू–१२ टिम टेनिस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा कोलम्बोमा जेठ १२ देखि १६ सम्म उक्त प्रतियोगिता हुँदै छ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागिता हुनेछन् ।
कास्की जिल्ला टेनिस संघले बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी उनलाई विदाइ गरेको छ । ऊक्त कार्यत्रममा बोल्दै संघका अध्यक्ष राजकुमार गुरुङले आर्यसले राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा आफ्नो उमेर समूहमा निरन्तर उत्कृष्टता देखाउँदै आएको बताए । ‘श्रीलंकामा पनि उनले नेपालको प्रतिष्ठा बढाउने विश्वास लिएका छौं,’ उनले भने ।
संघका प्रथम उपाध्यक्ष नवीन चालिसेले आर्यस पोखराबाट उदाएका प्रतिभाशाली खेलाडी भएको उल्लेख गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले राष्ट्रको शान उँचो पार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आर्यस पोखरेलीका लागि गर्वको विषय हुन् । उनलाई हाम्रो शुभकामना ।’
खेलाडी आर्यसराज पौडेलले प्रतियोगितामा आफ्नो अनुभवको अधिकतम प्रयोग गर्ने बताएका छन् । ‘खेलमा हार वा जित दुवै सम्भव हुन्छ, तर म सम्पूर्ण प्रयास गर्नेछु,’ उनले भने । बिदाइ समारोहमा संघका पदाधिकारी, प्रशिक्षक र खेलाडीले पौडेललाई नेपाली राष्ट्रिय झण्डा प्रदान गरेका थिए ।
