काठमाडौँ — आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १५९ रनको विशाल लक्ष्य दिएको छ ।
बैंककमा नेपालले टस जित्दै थाइल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । थाइल्याण्डले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा १५८ रनको विशाल स्कोर बनायो ।
थाइल्यान्डका लागि दुई जना ब्याटरले अर्धशतक प्रहार गरे । २८ बलमा नानापत कोन्चारनकाइले अर्धशतक प्रहार गर्दै अविजित रहिन् । यस्तै नाथ्या बूचाथमले पनि ४२ बलमा ५० रन प्रहार गरिन् । अफिसारा सुवान्चोनराठीले २९ रन बनाउँदा नात्थकरण चन्थम १५ रनमा अविजित रहिन् ।
नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले एक/एक विकेट लिनुबाहेक अन्य बलरले कसिलो प्रदर्शन गर्न सकेनन् ।
आफ्नो पहिलो खेलमा सोमबार नेपालले यूएईलाई पाँच विकेटले हराउँदै एसिया छनोट पार गर्दै विश्वस्तरको छनोटमा स्थान बनाइसकेको छ । यस्तै थाइल्यान्डले पनि पहिलो खेलमा यूएईलाई नै हराएर ग्लोबल छनोटमा स्थान बनाएको थियो ।
नेपालले आजको खेल जित्दै एसिया च्याम्पियन बन्ने लक्ष्य राखेको छ । तर थाइल्याण्डले दिएको लक्ष्य भेट्टाउन नेपालका लागि सहज भने छैन ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।
