काठमाडौँ — हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा मंगलबार शीर्षस्थानको हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लब विजयी भएका छन् ।
कीर्तिपुर कभर्डहलमा हाउन्ड्सले विजय बुर्जाको प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०–६९ स्कोरले पराजित गरेको थियो । सुरुदेखि लिएको अग्रता नै हाउन्ड्सको जितमा निर्णायक बन्यो । हाउन्ड्सले पहिलो क्वाटरमा २५–२३ को अग्रता बनायो भने दोस्रो क्वाटर २१–९ र तेस्रो क्वाटर २०–११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरअघि हाउन्ड्सले ६८–४३ को फराकिलो अग्रता बनायो । अन्तिम क्वाटर कीर्तिपुरले २५–१४ ले आफ्नो पक्षमा पारे पनि हाउन्ड्सलाई रोक्न सकेन ।
विजय एक्लैले सर्वाधिक ३४ स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । कीर्तिपुरका निश्चल महर्जनले २३ स्कोर गरे ।
हाउन्ड्स चौथो जितपछि ५ खेलबाट ९ अंकसहित शीर्षस्थानमै छ । तेस्रो हार बेहोरेको कीर्तिपुरले ५ खेलबाट ७ अंक जोडेको छ ।
दोस्रो खेलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ८४–६९ स्कोरले हराएर तेस्रो जित हासिल गरेको छ । टाइम्सका मनिष केसीले २० स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेयर भए । सामाखुसीका विक्रम डंगोलले २० स्कोर गरेका थिए । तेस्रो जित हात पारेको टाइम्स ८ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । सामाखुसीको यो लगातार पाँचौं हार हो । सामाखुशीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । पराजित भए पनि १ अंक प्राप्त हुने हुादा सामाखुसी ५ अंकसहित पुछारमा छ ।
सामाखुसीले १८–१३ ले सुरुआती अग्रता लिए पनि टाइम्सले खेलमा पुनरागमन गरेको हो । टाइम्सले दोस्रो क्वाटरमा २७–२१ र तेस्रो क्वाटरमा २७–१२ को अग्रता बनाएर अन्तिम क्वाटरअघि ६७–५१ को अग्रता बनायो । अन्तिम क्वाटर सामाखुसीले १८–१७ ले आफ्नो पक्षमा पारे पनि टाइम्सलाई जितबाट रोक्न सकेन ।
