पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिकामा आयोजित छैटौं संस्करणको कुम्मायक गोल्डकपको उपाधि हिलिहाङ गाउँपालिकाले जितेको छ ।
यासोकस्थित पृथ्वी माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा छिमेकी तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिकालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलिहाङले उपाधि जितेको हो ।
दुवै टिमले ३–३ गोलको बराबरीमा खेलेपछि ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा हिलिहाङलाई–४ का विरुद्व ५ गोलले हराएको हो ।
उपाधि उचालेको हिलिहाङले नगद १ लाख २५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता म्याङलुङ नगरपालिका तेह्रथुमले नगद ७५ हजार ५सय ५५ रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे र कुम्मायक गाउँपालिका अध्यक्ष बम लावती लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीका रूपमा हिलिहाङका मदन माझी घोषित भए भने प्लेयर अफ द टुर्नामेन्ट हिलिहाङकै निरोज तामाङ, बेस्ट मिडफिल्डर हिलिहाङकै बिपल तामाङ घोषित भए ।
त्यस्तै, बेस्ट कोच हिलिहाङकै गजेन राई, बेस्ट डिफेन्डर प्रकाश धमला, बेस्ट गोलरक्षकको उपाधि बाबा सुहाङ पुरस्कृत भए । बेस्ट फर्वार्ड म्याङलुङका सन्दिप गुरुङ, हाइस्कोररका रूपमा म्याङलुङका विशाल काफ्ले र हिलिहाङका निरोश लिङदेन घोषित भए ।
जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथरका सात र तेह्रथुमको म्याङलुङ नगरपालिका सहित आठ स्थानीय तहको सहभागिता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबले जनाएको छ ।
