सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal Challenge from Tuesday

काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबार रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ । ७२ होलमा चार दिन चल्ने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

३६ होल समाप्तिमा कट लागू हुनेछ । त्यसमा शीर्ष २१ प्रो र एमेच्योर खेलाडीले बाँकी ३६ होलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई त्यसअनुसार कठिन बनाइएको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले जनाएको छ । नेपाल नम्बर एक भुवन नगरकोटी, सिजन उत्कृष्ट नीरज तामाङ, साबिक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईलगायतका खेलाडी प्रतिस्पर्धामा रहने छन् ।

यसपालि एमेच्योरका नम्बर एक गल्फर सद्भाव आचार्यले व्यक्तिगत कारण भाग नलिने भएका छन् । अर्का एमेच्योर राहुल विश्वकर्माले प्रतिस्पर्धामा हुनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार र तेस्रो हुनेले ५० हजार जित्नेछन् भने शीर्ष २१ भित्र पर्ने प्रो गल्फरले नगद  प्राप्त गर्नेछन् ।

सूर्य नेपालको मुख्य प्रायोजनमा हुने प्रतियोगिता मुख्य स्पर्धापछि शनिबार प्रो–एम हुने आयोजक एनपीजीएले जनाएको छ । अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यसपटक कोर्सका कारण खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नुका साथै राम्रो स्कोर गर्ने अपेक्षा लिएका बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully