काठमाडौँ — ढल्को तेक्वान्दो डोजाङले दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको ट्रफी जितेको छ । हेराल्ड कलेजमा भएको प्रतियोगितामा ढल्को ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
आयोजक एसकेबीसी तेक्वान्दो क्लबले ५ स्वर्ण, ३ रजत र १० कांस्यसहित दोस्रो स्थान हात पारेको थियो । तेस्रो भएको बालाजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र ६ कांस्य पदक जितेको थियो ।
पुरुषमा जैसीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बू र महिलामा गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए । एसकेबीसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए । कुमार लावत उत्कृष्ट निर्णायक भए । उत्कृष्टलाई ओप्पो मोबाइल पुरस्कारस्वरुप प्रदान गरिएको थियो ।
विजेतालाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कृत गरे । उनले प्रतियोगितालाई निरन्तरता दिन हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । स्पर्धा टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको थियो ।
एसकेबीसी तेक्वान्दो क्लबका संयोजक रञ्जित डंगौराले बागमती प्रदेशका १८ डोजाङ र क्लबका गरी ५ सय सिनियर/जुनियर खेलाडी सहभागी थिए ।
