ग्लेसनरले लेखेको क्रिस्टल प्यालेसको नयाँ अध्याय

जेष्ठ ५, २०८२

एएफपी

A new chapter in Crystal Palace by Glessner

लन्डन — क्रिस्टल प्यालेस प्रशिक्षक ओलिभर ग्लेसनर मान्छन्, उनका खेलाडीले क्लब समर्थकलाई उनीहरूकै जीवनको सबैभन्दा ठूलो खुसी दिएका छन् । प्यालेसले म्यानचेस्टर सिटीलाई हराएर एफएकप जितेको हो र यो संयोगले क्लब इतिहासकै पहिलो ठूलो उपाधि रह्यो । त्यो जितमा निर्णायक गोल गरे, इबेरची इजेले पहिलो हाफमा ।

त्यसपछि प्यालेस सिटीको आक्रमणलाई यसरी निस्तेज पारेको थियो कि पेप ग्वार्डिओलाका खेलाडीले केही गर्नै सकेनन् । यसको पुरस्कार रह्यो, अब प्यालेसले अर्को सिजन युरोपा लिग पनि खेल्नेछ । ‘हामी नयाँ इतिहास लेख्न चाहन्थ्यौं,’ ग्लेसनर भन्छन्, ‘मलाई लाग्छ, हामीले त्यो इतिहासको एउटा नयाँ अध्याय नै लेखेका छौं ।’ प्यालेसको लिगमा सुरुआत राम्रो रहेन । सुरुआती १३ खेलमा एकै जित मात्र हात परेको थियो ।

ग्लेसन भन्छन्, ‘त्यही बेला पनि खेलाडी जत्ति एकढिक्का रहे, जति बेला संयमित भएर खेल्नुपर्छ, केही न केही हात पर्छ । म त यसको ठूलो श्रेय समर्थकलाई दिन्छु ।’ उनी थप्छन्, ‘पक्कै पनि नयाँ सिजनमा हाम्रो सुरुआत असाध्यै खराब रह्यो । आठ खेलमा तीन अंक मात्रै । त्यति बेला समर्थक अधैर्य भइदिन्छन्, जताततै गुनासो मात्र हुने गर्छ । तर हाम्रा समर्थक सधैं हाम्रै पक्षमा रहे । ३–४ साता अगाडि मात्रै चार दिनको अन्तरमा हामीले दस गोल खायौं, सिटीविरुद्ध पाँच अनि न्युकासल युनाइटेडविरुद्ध पाँच । न्युकासलविरुद्ध ६० मिनेटमै पाँच गोल खायौं तर हाम्रा समर्थकले टिमलाई हौसल दिइरहे । यो नै हो, विशेष सम्बन्ध ।’

सेलहर्स्ट पार्कमा पहिलो पटक पूरा सिजन जिम्मेवारी लिएका ५० वर्षीय ग्लेसनर दाबी गर्छन्, ‘जाडोको मौसमतिरै क्लबमा केही विशेष निर्माण हुँदै थियो । मैले यो ठ्याक्कै महसुस गरेको थिएँ । मलाई लागेको थियो, हामीले केही विशेष सफलता आत्मसात् गर्न सक्छौं । कोहीसँग पनि सफलता हात पार्ने खास औजार हुन्न । हामीलाई थाहा थियो, खेलाडी सबै प्रतिभाशाली छन् । क्लबको आफ्नै इतिहास थियो । सबैले मिलेर काम गरे, काम गर्ने वातावरण पनि अतुलनीय थियो ।’

वेम्बलीमा भएको फाइनलपछि प्यालेस समर्थकले जसरी ठूलो जोस र स्वरले खुसियाली मनाए, त्यो पनि विशेष रहेको मान्छन्, ग्लेसनर । ‘फुटबल खेलाडी र प्रशिक्षकले हात पार्न सक्ने सबैभन्दा ठूलो उपलब्धि भन्नु नै 

आफ्ना समर्थकलाई जीवनभरिको खुसी दिनु हो । हामीले दक्षिणी लन्डनमा आएका हाम्रा समर्थकलाई उनीहरूको जीवनकै सबैभन्दा ठूलो खुसी दिएका छौं । समर्थकको घरमा समस्या हुन सक्छ, हामी ती समस्यालाई पनि एक क्षणका लागि बिर्साउन चाहन्छौं ।’

ग्लेसनरले सन् २०२१/२०२२ मा इन्ट्राक्ट फ्र्यांकफर्टका लागि युरोपा लिग जितेका थिए । अब उनले त्यही उपाधि फेरि जित्न प्रयास गर्न सक्नेछन् किनभने अर्को सिजन अब प्यालेस युरोपमा खेल्नेछ, नयाँ गन्तव्यका रूपमा । प्यालेसले अहिलेसम्म एकैपल्ट मात्र युरोपमा खेलेको छ भने यो भनेको सन् १९९८ को इन्टरटोटो कप थियो । ‘अब अर्को सिजन हामी नयाँ अध्याय पनि सुरु गर्दै छौं । हामी साँच्चै युरोपमा खेल्ने छौं, हेरौं के हुनेछ ।’

प्रिमियर लिगमा अहिले प्यालेस १२ औं स्थानमा छ । अबका खेलबाट एक अंक मात्रै बटुल्ने हो भने प्यालेसले क्लबको इतिहासमै सबैभन्दा बढी अंक जोड्न सक्छ । अब प्यालेसको सबै ध्यान उल्भ्सविरुद्ध मंगलबार हुने खेलमा हुनेछ । तर अहिले तत्कालका लागि ग्लेसनर एउटै खुसीमा रमाए हुन्छ, आखिर उनी क्लबका लागि पहिलो उपाधि जित्ने प्रशिक्षक भएका छन् । ‘पक्कै पनि म खुसियाली मनाउन चाहन्छु । यो खुसियाली विस्तारमै मनाउनेछु र विश्वास गर्छु, यसले ठीक दिशा लिनेछ,’ उनले थपे । 

एएफपी

Link copied successfully