काठमाडौँ — नेपाल ओलम्पियन्स संघले स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु गरेको छ । झन्डै ४ वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो ।
संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रबार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गर्यो । ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी राष्ट्रिय खेलाडी उषा भण्डारीले आफ्नो खेल यात्राका बारेमा पुलिस स्कुलका विद्यार्थीसँग अनुभव साटेका थिए ।
सोही पुलिस स्कुलमा समेत अध्ययन गरेका प्रिन्स आफ्नो बुबाको प्रभावबाट ब्याडमिन्टन खेल्न सुरु गरेको बताए । उनले पुलिस स्कुलमा हुँदा ब्याडमिन्टन खेलेको दिनको पनि स्मरण गरे । उषाले बुबाको करले भलिबल सुरु गरे पनि पछि यसैमा रमाउन थालेको बताइन् । उनले खेलले पढाइमा असर गर्ने भए पनि त्यसलाई व्यवस्थापन गर्ने सके दुवैलाई सँगसँगै लान सकिने बताइन् । मनिताले होस्टलमा बस्ने क्रममा विस्तारै जुडो खेलमा आकर्षित भएको र आफ्नो गुरुको सपना पूरा गर्ने क्रममा ओलम्पिकसम्म पुगेको बताइन् ।
सन्तोषीले १२ वर्षको उमेरबाट खेल्न सुरु गरेको स्मरण गर्दै पीडा सहन सक्ने क्षमतापछि मात्र सफलता मिल्न सक्ने बताइन् । पुलिस स्कुलका विद्यार्थीले पढाइ र खेललाई कसरीसँगै लान सकिन्छ भन्ने प्रश्नमा सन्तोषीले भनिन्, ‘समयअनुसार खेल र अध्ययनलाई प्राथमिकतामा राखेर तयारी गर्नु उपयुक्त हुन्छ ।’
विभिन्न खेलमा प्रशिक्षण गरिरहेका आफ्ना विद्यार्थीलाई पुलिसले कार्यक्रममा सहभागी गरेको थियो । उनीहरूले उत्साहित हुँदै खेलाडीहरूलाई प्रश्न राखेका थिए । स्कुलका कराते, तेक्वान्दो, जुडो र जिम्न्यास्टिकका खेलाडीले डेमोस्ट्रेसन र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, स्कुलका इन्चार्ज, प्रिन्सिपलको उपस्थिति थियो ।
सोही अवसरमा संघले विभिन्न खेलका खेल सामग्री पनि स्कुलका प्रिन्सिपललाई हस्तान्तरण गरेको थियो । ‘सर्भिस टु सोसाइटी : सर्भिस टु ओलम्पियन’ भन्ने नाराका साथ २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका १६ ठाउँमा आयोजना भइसकेको छ । पुलिस स्कुलमा स्कुल ओलम्पिक आयोजना भएको यो दोस्रो पटक हो ।
