राजन र एरिका बागमती प्रदेशका वर्ष खेलाडी घोषित

जेष्ठ ४, २०८२

सुवास विडारी

Rajan and Erica were declared the players of the year in Bagmati Province

मकवानपुर — खोखोका राजन बल र करातेकी एरिका गुरुङ बागमती प्रदेशका वर्ष खेलाडी घोषित भएका छन् । बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौंडा–४ स्थित हुप्रचौरमा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र करातेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको रुपमा सम्मानित गरिएको हो ।

मन्त्रालयले विभिन्न आठ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्ट्स अवार्ड प्रदान गरेको हो । एथ्लेटिक्सका जीतबहादुर केसी र बैकुण्ठ मानन्धर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । पारा तेक्वान्दोका कविराज नेगी उत्कृष्ट प्रशिक्षक र पत्रकार श्याम चित्रकार उत्कृष्ट पत्रकारबाट सम्मानित भए ।

फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सका सन्तोषी श्रेष्ठ लोकप्रिय खेलाडीबाट सम्मानित भए । तेक्वान्दोकी संगीता वैद्य बागमतीको शान, पारा तेक्वान्दोकी पलेसा  गोवर्द्धन उत्कृष्ट पारा तेक्वान्दो खेलाडी, गल्फका सद्भाव आचार्य युवा खेलाडी र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षबाट सम्मानित भए ।

लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला र पुरुष, बागमतीको सान र उत्कृष्ट प्रशिक्षकलाई जनही समान एक लाख र अरु विधाका खेलाडी र पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो । खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहिलो पटक अवार्डको आयोजना गरेको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताए ।

Rajan and Erica were declared the players of the year in Bagmati Province

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तथा मन्त्रीहरुले सम्मानितहरुलाई अवार्ड, नगद र सम्मानपत्र प्रदान गरेका थिए । मुख्यमन्त्री लामाले प्रदेश स्पोर्ट्स अवार्डलाई खेलाडी र खेल क्षेत्रमा लाग्न चाहनेलाई थप हौसला मिल्ने दाबी गरे । 

यस्ता कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जानुपर्ने बताए । ‘खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरेका पूर्व तथा वर्तमान खेलाडीको कदर र नयाँ खेलाडीको हौसला बढाउन कार्यक्रम सफल सावित हुनेछ ।’, मुख्यमन्त्री लामाले यस्ता कार्यक्रमको माध्यमबाट खेलाडीको विदेश पलायन रोक्नसमेत मद्दत पुग्ने आयोजकको विश्वास छ ।

अवार्डका लागि अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उपसमिति बनाइएको थियो । कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत भएको थियो ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully