म्याड्रिड — रियल म्याड्रिडले स्पेनी डिफेन्डर डिन हाउसनलाई ५ करोड ९० लाख डलर तिर्ने गरेर शनिबार बर्नमाउथबाट अनुबन्ध गरेको छ । यो सिजन प्रिमियर लिगमा २० वर्षीय सेन्ट्रल ब्याकले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी सन् २०२४ मा मात्र युभेन्ट्सबाट बर्नमाउथ आएका थिए ।
रियलले भनेको छ, ‘बर्नमाउथसँग हामीले डिन हाउसनको अनुबन्धलाई लिएर सहमति गरेका छौं । अब उनले हाम्रा लागि पाँच सिजनका लागि खेल्नेछन्, सन् २०२५ देखि २०३० सम्म ।’ बर्नमाउथले पनि हाउसन रियल जाने पुष्टि गरेको छ । यो अनुबन्धबाट उनका दुई पूर्वक्लब युभेन्ट्स र मालागालाई पनि फाइदा हुनेछ । हाउसनमाथि अरू प्रिमियर लिग क्लबले पनि रुचि देखाएपछि उनीसँग अनुबन्ध गर्नका लागि रियलले पनि हतार गरेको हो । अब उनी अमेरिकामा हुने क्लब वर्ल्डकप खेल्नका लागि रियलमा उपलब्ध हुनेछन् । रियलको पहिलो खेल जुन १८ मा अल–हिलालविरुद्ध मियामीमा रहेको छ ।
नेदरल्यान्डमा जन्मेका हाउसन पाँच वर्षको उमेरमा आफ्नो परिवारसँगै स्पेन गएका थिए । त्यहाँ उनी मालागाको युथ एकेडेमीसँग जोडिएका थिए । उनले स्पेनका लागि आफ्नो जन्म देश नेदरल्यान्ड्सकै विरुद्ध डेब्यु गरका थिए । नेसन्स लिगको मार्चमा भएको सेमिफाइनलमा स्पेन विजयी रहेको थियो । यो सिजन रियलको रक्षापंक्ति कमजोर रहेको छ र अहिलेसम्म सबै प्रतियोगितामा गरेर १४ खेलमा हार व्यहोरेको छ । यस्तै रियलले यो सिजन कुनै पनि उपाधि जित्ने छैन । प्रशिक्षक कार्लो एन्सेलोटी रियल छाडेर ब्राजिल जाने निश्चित भइसकेको छ । यस्तै नयाँ प्रशिक्षकका रूपमा ज्याभी एलोन्सो आउने पनि निश्चित मानिएको छ ।
