काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) भित्रको विवाद सतहमा आएको छ । लुम्बिनी प्रादेशिक क्रिकेट संघको विशेष साधारणसभालाई लिएर क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले संघको ‘लेटर हेड’ मा शुक्रबार राति फरक–फरक व्यहोराका पत्र काटेका छन् ।
प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्ध लागेको अविश्वास प्रस्तावलाई लिएर शनिबार लुम्बिनी प्रादेशिक क्रिकेट संघको विशेष साधारणसभा डाकिएको छ । प्रदेशअन्तर्गत रहेका ४० साधारणसभा सदस्यमध्येका ३१ जनाको हस्ताक्षरपछि सो साधारणसभा डाकिएको थियो । त्यसको विरोधमा प्रदेश अध्यक्ष गुरुङले अविश्वासको प्रस्तावसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकी निर्णय पुनरावलोकन गरिपाऊँ भनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका थिए ।
जवाफमा राखेपले वैशाख ३० गते निवेदन परेको आधारमा ‘सत्यतथ्य विवरण र प्रादेशिक क्रिकेट संघको विनियमावली के कसरी स्वीकृत भएको/गरेको हो पत्र प्राप्त मितिले ७ दिनभित्र अविलम्ब उपलब्ध गराइदिन र सो सम्बन्धी समाधान नभएसम्म लुम्बिनी प्रादेशिक क्रिकेट संघको वार्षिक साधारणसभा स्थगित गर्न’ निर्देशन दिएको थियो ।
क्यानका सचिव खड्काले शुक्रबार राति ७ बजे लुम्बिनी प्रदेश क्रिकेट संघको नाममा पत्र काट्दै राखेपको निर्देशनका आधारमा विशेष साधारणसभा रोक्न भनेका छन् । यता अध्यक्ष चन्दले लुम्बिनी प्रदेश क्रिकेट संघका उपाध्यक्षको नाममा पत्र काट्दै क्यानको विधान र प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ बमोजिम विशेष साधारणसभा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रदेश अध्यक्ष गुरुङले आफू साधारणसभामा अनुपस्थित रहने बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा गुरुङले राखेपले विशेष साधारणसभा रोक्न भनिसकेको र क्यानका सचिव पारस खड्काले पनि त्यसलाई निरन्तरता दिइसकेको अवस्थामा आफू साधारणसभामा जानुको कुनै औचित्य नरहेको बताए ।
२०८१ चैत २२ गते लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ४० साधारणसभा सदस्यमध्येका ३१ जनाको हस्ताक्षरमा गुरुङमाथि गम्भीर असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव दर्ता गर्दै क्यानलाई यसबारेमा जानकारी गराएका थिए ।
