लन्डन — बेलायतको प्रतिष्ठित गोर्खा कप यही २५ मे आइतबार (जेठ ११ गते) हुने भएको छ । गोर्खा कपको २३ औं संस्करण तयारी अन्तिम चरणमा पुगेको आयोजक तमू धीं यूकेले जनाएको छ ।
आयोजकले शनिबार मिचेटस्थित आफ्नै भवनमा आयोजना गरेको पत्रकार भेटघाटमार्फत गोर्खा कपबारे जानकारी गराएको हो । गोर्खा कपमा मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानतर्फ १६ र महिलाको २ टीमले प्रतिस्पर्धा गर्नेछन् । मेन क्याटेगोरिजमा ४२ टिम र भेट्रानतर्फ १८ टिमले आवेदन दिए पनि सबैलाई लिन नसकिएको आयोजकले जनाएको छ ।
मेन क्याटेगोरिजतर्फ विजयीलाई ३ हजार पाउण्ड, रनर अपलाई १ हजार ८ सय पाउण्ड, भेट्रान विजयीलाई १ हजार ५ सय पाउन्ड र रनर अपलाई १ हजार पाउण्ड प्रदान गरिनेछ । महिलातर्फ विजयीलाई ६ सय र रनर अपलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए ।
अल्डरसट हृयाम्पसायरस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड (खेलमैदान)मा एकै दिनमा सक्ने गरी सञ्चालन हुने फुटबल प्रतियोगिता बिहान ९:३० बजेबाट सुरु भएर साँझ ८ बजेसम्म समापन हुने संस्थाका खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले बताए । उनका अनुसार सन् १९९६ मा ७ ए साइडबाट सुरु गरिएको गोर्खा कप २३ औं संस्करणसम्म आइपुग्दा विदेशमै नेपालीले आयोजना गर्ने उत्कृष्ट र ठूलो कार्यक्रम बन्न पुगेको छ ।
गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता रहनेछन् ।
यस्तै, साँस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर (दन्त परीक्षणसहित) गरिने आयोजकले जनाएको छ । सो अवसरमा व्यापारिक, च्यारिटी, प्रहरीलगायतका गरी कूल १ सय २५ वटा स्टल राखिने स्टल कोअर्डिनेटर एवम् संस्थाका उपाध्यक्ष दिलमाया गुरुङले बताइन् ।
गोर्खा कपमा ९० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ । गत वर्ष ७५ हजार खर्च भएकोमा यस वर्ष वृद्धि हुने आयोजकले जनाएको छ । यस वर्ष १५ देखि २० हजार सहभागी हुने आयोजकको अपेक्षा रहेको आयोजक संस्थाका महासचिव डा. विशाल गुरुङले बताए ।
पत्रकार भेटघाटमार्फत तमुधीं यूकेका अध्यक्ष गुरुङले गोर्खा कपमा सहभागिताका लागि बेलायतवासीलाई अपिल गरे ।
