जनकपुरधाम — तेस्रो जनकपुरधाम मेयर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको लखनऊले जितेको छ । शुक्रबार रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा भएको फाइनल खेलमा बारालाई ८ विकेटले साविकको विजेता बारालाई हराउँदै मेयर कपको उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको बारा टिमले लखनऊलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्दै लखनऊ टिम १७ ओभर चार बलमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरे ।
लखनऊको तर्फबाट हर्षित यादवले ५० बलमा ९८ रन बनाएर अविजित रहे । उनले १२ चौका र तीन छक्का प्रहार गरेका थिए । सुमित पाठकले ४३ बलमा ५३, सोमेन मोहेन्तीले ५ बलमा २ र अंकित सिंहले ८ बलमा १९ रन बनाएर अविजित रहे । बाराको तर्फबाट बलिङ गर्दै शाहब आलम र पवन सर्राफले १/१ विकेट लिए ।
सुरुवातमा टस हारेर पहिले ब्याटिङका लागि आमन्त्रित भएका बारा टिमका लागि रवि साहले ४४ बलमा ५४ रन, आदिल अन्सारीले २१ बलमा ५०, विवेक यादवले १८ बल्मा २२, पवन सर्राफले १० बलमा १६, तृत दासले ८ बलमा ९, निरज यादवले १८ बलमा ७ र निखिल सिंहले ३ बलमा २ रन बनाए ।
लखनऊको तर्फबाट सुभम यादव र मनिश सिंहले समान २/२ विकेट लिँदा शैलेन्द्र सिंह र अश्मित मिश्रले १/१ विकेट लिए । फाइनलमा ९८ रन बनाएर अविजित रहेका हर्षितलाई म्यान अफ द म्याच घोषित भए ।
यस प्रतियोगितामा चार म्याच खेलेर बाराका विवेक यादवले २ सय २५ रन बनाएर बेस्ट ब्याटर र म्यान अफ द सिरिज बने । उनले एक शतक र एक अर्धशतक यसै प्रतियोगितामा लगाएका थिए । यस्तै यस प्रतियोगितामा दुई म्याचमा ६ विकेट लिएका पर्साका रञ्जित कुमार बेस्ट बलर भएका छन् । जनकपुरधाम मेयरकपमा कुल १५ म्याचमा १ सय ३३ वटा छक्का र ३ सय ६० चौका लागेको थियो ।
उपाधि जितेको लखनऊलाई कपसहित २ लाख र बारालाई १ लाख २५ हजार दिइएको हो । यस प्रतियोगितामा भारतको चारसहित १२ टिम प्रतिस्पर्धा गरेका थिए । पहिलो मेयर कपको उपाधि धनुषा, दोस्रो मेयर कपको उपाधि बारा र तेस्रो कपको उपाधि भारतको लखनऊ टिम जितेका छन् ।
