पाँचौँ अन्नपूर्ण म्याराथन जेठ २० मा

जेष्ठ २, २०८२

अनुप पौडेल

Fifth Annapurna Marathon on May 20

कास्की — अन्नपूर्ण हिमाल आरोहणको अवसर पारेर आयोजना गरिने अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण जेठ २० मा हुने भएको छ । आरोहणको दिन जुन ३ अर्थात् जेठ २० मा ४२.१९५ किलोमिटर दूरीको म्याराथन हुने आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

म्याराथन अन्नपूर्ण आधार शिविर (४१३० मिटर)बाट सुरू हुने समिति अध्यक्ष ललित गुरुङले जानकारी दिए । माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित श्री मेश्रम बराह माविको खेल मैदान (१९४० मिटर) पुगेर म्याराथन टुंगिनेछ । 

प्रथम, द्वितीय र तृतीय हुने पुरुष र महिला धावकले समान क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । म्याराथनमा सहभागी हुन ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रथम हुने अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश, विदेशी र लगातार ३ संस्करण सहभागी धावकले विशेष पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । ७५ औं स्थान हासिल गर्ने धावकले डायमण्ड जुब्ली अवार्ड प्राप्त गर्नेछन् । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा यो अवार्ड प्रदान गर्न लागिएको हो । 

धावकले जेठ १५ सम्म नाम दर्ता गर्न सक्नेछन् । सहभागी धावक जेठ १८ मा अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने समिति सचिव मिकास गुरुङले बताए । म्याराथनमा सहभागी हुन हालसम्म १० विदेशीसहित ६० जनाले नाम दर्ता गराएको उनले बताए । ठाउँ–ठाउँमा चेकपोइन्टका अतिरिक्त यस वर्ष जीपीएस प्रणालीबाट धावकको निगरानी गर्ने तयारी आयोजकको छ ।  

अनुप

Link copied successfully