जनकपुरधाम मेयर कप : सेमिफाइनलको समीकरण पूरा

जेष्ठ १, २०८२

कमलेश ठाकुर

Janakpurdham Mayor's Cup: The equation of the semi-finals is complete

जनकपुरधाम — तेस्रो जनकपुरधाम मेयर कप टी–२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार बारा र भारतको लखनउले जितेसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । भारतको चारसहित १२ टिम सहभागी भएको यस प्रतियोगिताको सेमिफाइनलमा महोत्तरी, मुझफरपुर, लखनउ र बारा पुगेका छन् । 

बाराले भारतको दिल्लीलाई १ सय १ रनले र लखनउले रौतहटलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान निश्चित गरे । टस हारेर ब्याटिङ गरेको रौतहट १५.३ ओभर ६४ रनमै अलआउट भयो । सन्नी साहले २८ बलमा २० रन र नितेश यादवले १४ रन बनाए ।

लखनउका अस्मित मिश्रले ४ ओभरमा १९ रन दिएर ३ विकेट, शुभम यादव, सुमित पाठक र मनीष सिंहले समान २–२ तथा शिव सिंहले १ विकेट लिए । लखनउले १२.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । अंकित सिंहले ११ बलमा २०, मनीष सिंह २२ बलमा १८ रन बनाएर अविजित रहे । रौतहटबाट राजेश यादव र आशिक बैठाले २–२ विकेट लिए । लखनउबाट ३ विकेट लिएका अस्मित प्लेयर अफ द म्याच घोषित भए । 

दोस्रो खेलमा बाराका तर्फबाट राष्ट्रि खेलाडी विवेक यादवको शतकीय इनिङको मद्दतले दिल्लीलाई २ सय १८ रनको लक्ष्य दिएको थियो । सुरुवातमा ब्याटिङ गरेको बाराबाट विवेकले ७ छक्का र ८ चौकाको मद्दतले ५३ बलमा १ सय ४ रन बनाए । पवन सराफले १४ बलमा ३१, आदिल अन्सारीले २० बलमा ३३, तृत दासले १२ बलमा १९, साहिल पटेलले ११ बलमा १५ रन बनाए ।

दिल्लीका आदित्य सिन्हाले ह्याट्रिकसहित ४ विकेट लिए । रोहित त्रिपाठी, वैभव मिश्र र राहुल द्विवेदीले समान १–१ विकेट लिए । दिल्लीका तर्फबाट विवस यादवले ३५ बलमा ५३ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बाराबाट साहव आलमले ४, अरनिको यादवले ३, पवनले २ र भुलावन सहनीले १ विकेट लिए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully