लुम्बिनी प्रादेशिक संघको विशेष साधारणसभा रोक्न क्यानलाई राखेपको पत्र

४० साधारणसभा सदस्यमध्येका ३१ जनाको हस्ताक्षरमा प्रदेश अध्यक्ष सञ्जय गुरुङमाथि असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Rahep's letter to CAN to stop the special general meeting of the Lumbini Provincial Union

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले जेठ ३ गते हुन लागेको लुम्बिनी प्रादेशिक क्रिकेट संघको विशेष साधारणसभा रोक्न मंगलबार नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र काटेको छ । प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्ध लागेको अविश्वास प्रस्ताव पारित गर्न ४० मध्ये ३३ सदस्यले हस्ताक्षर गरी शनिबार विशेष साधारणसभा डाकिएको थियो । 

प्रदेश अध्यक्ष गुरुङले विधानसँग बाझिएको विनियमावली खारेज गरी निर्णय पुनरावलोकन गरिपाउँ भन्नेबारे क्यान अध्यक्षलाई सम्बोधन गरिएको पत्रको बोधार्थ प्रति र वैशाख २१ गते अविश्वासको प्रस्तावसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकी/गरी निर्णय पुनरावलोकन गरिपाउँ भनी गुरुङले दिएको निवेदनका आधारमा परिषद्ले हुन लागेको विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो ।

पत्रको बेहोरामा भनिएको छ, ‘सत्यतथ्य विवरण र प्रादेशिक क्रिकेट संघको विनियमावली के कसरी स्वीकृत भएको गरेको हो पत्र प्राप्त मितिले ७ दिनभित्र अविलम्ब उपलब्ध गराइदिन र सोसम्बन्धी समाधान नभएसम्म लुम्बिनी प्रादेशिक क्रिकेट संघको वार्षिक साधारणसभा स्थगित गरी परिषद्लाई जानकारी गराउन हुन अनुरोध छ ।’

२०८१ चैत २२ गते लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ४० साधारणसभा सदस्यमध्येका ३१ जनाको हस्ताक्षरमा गुरुङमाथि गम्भीर असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव दर्ता गर्दै क्यानलाई यसबारेमा जानकारी गराएका थिए ।

क्यानमा दर्ता पत्रका आधारमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले वैशाख ३ गते उपाध्यक्ष भण्डारीको नाममा पत्र लेख्दै अविश्वासको पत्रलाई कामकारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । यसमा प्रदेश अध्यक्ष गुरुङले क्यानको बैठक नै नबसी गरेको निर्णयमा भने गम्भीर आपत्ति जनाएका छन् । 

लुम्बिनी प्रदेशका अध्यक्ष गुरुङले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यान नेतृत्व विशेष गरी अध्यक्ष चन्दले आफ्नो स्वार्थ पूरा गर्न आफूविरुद्ध खुलेरै लागेको आरोप लगाए । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी एवं अन्तर्राष्ट्रिय अम्पायर गुरुङले लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएलगत्तै आफूप्रति प्रतिशोधको भावनाका साथ कुनै प्रक्रिया नपुर्‍याई अविश्वासको प्रस्ताव दर्ता गरिएको दाबी गरे । 

‘आउने ६–७ महिनामा २१ जिल्लाको निर्वाचन हुँदै छ । त्यसमा लुम्बिनी प्रदेशको ७ जिल्लाको निर्वाचन पनि हुनेछ । प्रदेश कब्जा गर्न अहिले यो खाले गतिविधि गरिएको छ । हिजोको दिनमा क्यानमै रहेका एक सदस्य अहिले कतै नहुँदा उनलाई घुमाउरो हिसाबले ल्याएर प्रदेश अध्यक्ष बनाउन लागिएको छ,’ गुरुङले भने, ‘कार्यसमितिले नभई व्यक्तिले संघ चलाउदा क्यानमा बेथिति बढेको छ ।’

क्यानमा अध्यक्ष चन्द र सचिव पारस खड्काबीच मनमुटाव बढ्दै जाँदा सचिव समर्थक गुरुङलाई अध्यक्ष चन्दले हुत्याउन लागेको चर्चा छ । नेपाली क्रिकेटमा खराब प्रक्रियाको सुरुआत भएको र दुर्भाग्यवश आज आफू त्यसको पात्र हुन पुगेकोमा निकै दुःख लागेको गुरुङले बताए ।

अविश्वासको प्रस्तावको शृंखला लुम्बिनीमा सुरु भएको र सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशमा पनि यस्तै राजनीतिक खेल गराउने प्रयासमा चन्द समूह लागेको गुरुङको आरोप छ । 

कान्तिपुर

Link copied successfully