प्रथम बागमती स्पोर्ट्स अवार्डको तयारी पूरा

जेष्ठ १, २०८२

सुवास विडारी

Preparations for the first Bagmati Sports Award are complete

मकवानपुर — बागमती प्रदेश सरकारको आयोजनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रदेश स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा आयोजना हुने अवार्डको विषयमा बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 

प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । उनले खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने कार्यको प्रदेशले थालनी गरेको बताए । खेलाडीको विदेश पलायन रोक्न प्रयास थालिएको महर्जनले सरकार लागि परेको उनको भनाइ छ ।

मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिला/पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकारसमेत ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट महिला/पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।

कार्यक्रमका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको थियो । समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्नेछ । खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्‍याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई फनि अवार्ड दिने व्यक्तित्व छनोटको त्रमलाई ध्यानमा राखिने आयोजकले जनाएको छ ।

कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ । मन्त्रालयले युथ समिट भने केही सातापछि आयोजना गरिने जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully