जनकपुरधाम — जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा बारा र भारतको लखनऊ टिम पुगेको छ ।
बिहीबार रामजानकी अन्तराष्ट्रिय बहुउद्देश्यीय रंगशालामा भएको सेमिफाइनलमा मुजफ्फरपुरलाई पराजित गर्दै बारा र महोत्तरीलाई पराजित गर्दै लखनऊ टिम फाइनलमा प्रवेश गरेको हो ।
अब शुक्रबार उपाधिको लागि यी दुबै टिमबीच प्रतिस्पर्धा हुने छ । यस प्रतियोगितामा बारा टिम पर्सा, दिल्ली र मुजफ्फरपुरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् भने लखनऊ टिम रौतहट, सिरहा र महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका छन् ।
बिहीबार भएको खेलमा लखनउ र महोत्तरीबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । टस जितेर लखनऊ टिम महोत्तरीलाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । महोत्तरी टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको लक्ष्य लखनऊसमक्ष प्रस्तुत गरेका थिए । महोत्तरीका लागि ब्याटर ओपनर रविकुमार सिंहले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ५६ रनको योगदान दिए । यस टिमका लागि अविनास अधिकारीले २२ बलमा २३ रन, सुजित साह १० र नविन कुमार यादवले ११ रन बनाए ।
लखनऊका लागि मनिष सिंहले २६ रन खर्चेर तीन विकेट, शिव सिंहले २२ रन खर्चेर दुई विकेट, आशमित मिश्रा र शैलेन्द्र सिंहले एक/ एक विकेट लिए ।
१ सय ३० रनको लक्ष्य पाएको लखनऊले जवाफी ब्याटिङ गर्दै १९ ओभर ५ बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । लखनऊका लागि सुधिर सिंह २३ बलमा २६ रन, पृथुल मेहता २८ बलमा २३ रन, समित पाठक १३ रन, अंकित सिंह र सुभम यादवले १२/१२ रन बनाए । महोत्तरीका लागि बलिङ गरेका नितेशकुमार यादव दुई विकेट, अकाश मण्डल दुई विकेट, अभिषेक तिवारी, धवन कुमार सहनी र रमेश सहनीले समान एक/एक विकेट लिए । यस खेलको म्यान अफ द म्याच लखनऊका मनिष सिंह घोषित भएका थिए ।
यस्तै, बिहीबार नै भएको दोस्रो खेलमा टस जितेर मुजफ्फरपुरले बारालाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । बाराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १३ रनको लक्ष्य मुजफ्फरपुर समक्ष प्रस्तुत गरेको थियो । बाराका लागि निलम्बन फुकुवापछि पहिलो प्रतियोगिता खेलिरहेका राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारीले सार्वधिक ४३ बलमा सात चौका र पाँच छक्काको मद्दतले ८० रन बनाए । यसै टिमका लागि रवि साह ३४ बलमा ५० रन, विवेक यादव १३ बलमा ३६ रन र कप्तान पवन सराफले १२ बलमा १८ रन बनाए ।
मुजफ्फरपुरका लागि मोहित कुमालेर चार ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए । त्यस्तै आदित्य कुमार, हर्ष कुमार र सचिन कुमार सिंहले एक/एक विकेट लिए । २ सय १३ रनको विशाल लक्ष्य पाएको मुजफ्फरपुर जवाफी ब्याटिङ गर्दै १९ ओभर चार बलमा सबै विकेट गुमाएर मात्र १ सय ८८ रन बनाउन सक्यो । मुजफ्फरपुरका लागि ब्याटर इमरान नाजिरले सार्वधिक २४ बलमा ४० रन, मोहमद तौफिक २२ बलमा ३४ रन, अलोक कुमार २२ बलमा २७ रन, रवि शर्मा २० र मोहित कुमारले २० रन बनाए ।
बाराका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरेका थिए । उनले तीन ओभर चार बलमा २९ रन खर्चेर पाँच विकेट लिए । भुलावन सहनी, साहव आलम, कमल गुप्ता, पवन सराफ र निखिल सिंहले एक/एक विकेट लिए । यस खेलको म्यान अफ द म्याच बाराका विवेक यादव घोषित भए ।
