रौतहट — सिन्दुरेघारी बहुमुखी क्याम्पसले जय नेपाल कप रौतहट जिल्ला अन्तरकलेज टी–२० क्रिकेट लिग प्रतियोगिता जितेको छ । चन्द्रपुर–८ स्थित कोटीहोम क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा सिन्दुरेघारीले मध्य रौतहट बहुमुखी क्याम्पस गरुडालाई ६८ रनले पराजित गर्यो ।
टस जितेर पहिला ब्याटिङ रोजेको सिन्दुरेघारीले २० ओभरमा २ विकेट गुमाई १ सय ३१ रन बनायो । राजेश यादबले ३९ बलमा ४९ रन बनाई अविजित रहे । राज पटेलले २५ बलमा ३० रनको योगदान गरे । दिनेश अहमदले १४ र राहुल यादवले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । गरुडाका उमेश पटेल र धर्मेन्द्र साहले १–१ विकेट लिए ।
जबाफमा आएको गरुडा १०.२ ओभरमा ६३ रनमै अलआउट भयो । गरुडाका रबि जैसवालले १२, विक्की सुरजले १०, अरविन्द कुमारले ११ र उमेश पटेलले १० रन बनाए । सिन्दुरेघारीका मोहन घिमिरेले १५ रन खर्चेर ५ विकेट लिए । राजेश यादवले १४ रन खर्चेर २ र अरविन्द बैठाले १ विकेट हात पारे ।
विजेता सिन्दुरेघारीले १ लाख नगद, ट्रफि, मेडल र उपविजेता गरुडाले नगद ५० हजार, ट्रफि र मेडल पाएका छन् । गरुडाका नितेश यादव प्लेयर अफ द सिरिज भए । उनले १५ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर गरुडाकै शैलेन्द्र कुशवाहा र उत्कृष्ट बलर सिन्दुरेघारीका मोहन घिमिरे घोषित हुँदैं जनही नगद १० हजार प्राप्त गरे । प्लेयर अफ द फाईनल सिन्दुरेघारीका राजेश यादव भए । प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसले भाग लिएका थिए ।
