पाल्पा — अन्तरपालिका फुटबलको उपाधि पाल्पाको रामपुर नगरपालिकाले हात पारेको छ । माथागढी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बुधबार आयोजक माथागढी गाउँपालिकालाई १–० गोलले पछि पार्दै रामपुरले उपाधि जितेको हो ।
रामपुर नगरपालिकाको तर्फबाट खेल सुरु भएको ९ मिनेटमा गौरव पराजुलीले गरेको गोल नै निर्णायक बन्यो । रामपुरले प्रतियोगितामा विजेता भएसँगै एक लाख नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ । उपविजेता बनेको माथागढीले ७५ हजार नगदसँगै नदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ ।
तानसेन नगरपालिकालाई ३–१ ले हराएर तिनाउ गाउँपालिका तेस्रो भएसँगै ५० हजार नदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको खेल संयोजक तेजबहादुर घर्तिमगरले बताए । विजेता खेलाडी तथा टिमलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी लगायतले नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरे ।
प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने तिनाउ गाउँपालिकाकाका अस्मित शर्मा, उत्कृष्ट खेलाडी माथागढी गाउँपालिका ‘ए’ टिमका सुदन राना, बेस्ट डिफेन्स सन्दीप श्रेष्ठ, उदाउँदो खेलाडी डिला सारु भएका छन् ।
प्रतियोगितामा बगनासकाली र तिनाउ गाउँपालिकाका साथै तानसेन र रामपुर नगरपालिका र आयोजक माथागढी गरी ६ टिमको सहभागिता रहेको माथागढी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रकाश पाठकले बताए ।
कसेनी सराई खेलमैदानमा भएको प्रतियोगितामा माथागढी गाउँपालिका अध्यक्ष चिदीले खेलको माध्यमबाट कसेनी सराईलाई चिनाउने गरी काम गर्ने बताए ।
