काठमाडौँ — नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके पुनः अमेरिकाको प्रशिक्षक बनेका छन् । अमेरिकी क्रिकेटले ५४ वर्षे दासानायकेलाई पुनः भित्र्याउन पाउँदा निकै खुसी लागेको बुधबार जनाएको छ । दासानायके यसअघि २०१६ देखि २०१९ सम्म पनि अमेरिकाको पुरुष क्रिकेट टोलीका प्रशिक्षक थिए ।
सोक्रममा अमेरिकाले विश्व क्रिकेट लिग डिभिजन ४ देखि एकदिवसीय अन्तर्राष्ट्रियसम्मको यात्रा तय गरेको थियो । श्रीलंकाबाट ११ टेस्ट खेलेका क्यानेडियन नागरिक दासानायके योसँग तीन फरक देशमा २–२ पटक प्रशिक्षक बनेका छन् । उनकै प्रशिक्षकमा क्यानडाले २०११ को एकदिवसीय विश्वकप खेलेको थियो ।
त्यसपछि उनी नेपाल आएका थिए । दासानायकेकै कार्यकालमा डिभिजन ४ मा रहेको नेपालले डिभिजन २ हुँदै एकदिवसीय विश्वकप छनोटसम्म खेलेको थियो भने २०१४ मा ट्वान्टी–२० विश्वकप खेल्दै सनसनी मच्चाएको थियो । त्यसपछि उनी अमेरिका लागेका थिए । अमेरिकामा ३ वर्ष प्रशिक्षक रहेका उनी २०२१ को अन्त्यमा पुनः नेपाल आएका थिए । तर उनको नेपालसँगको कार्यकाल ६ महिना पनि टिकेन ।
त्यसलगत्तै उनी क्यानडाको प्रशिक्षक बनेका थिए । दासानायकेकै प्रशिक्षणमा गत वर्ष क्यानडाले पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । विश्वकपलगत्तै उनलाई क्यानडाको प्रशिक्षकबाट हटाइएको थियो । नेपालले अक्टोबर–नोभेम्बरमा अमेरिका भ्रमण गर्दा दासानायके नेपाली टोलीका परामर्श प्रशिक्षक थिए ।
दासानायकेकै प्रशिक्षणमा नोभेम्बर–डिसेम्बरमै जनकपुर बोल्टसले पहिलो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जितेका थियो ।
