धनकुटा — बिर्तामोड युनाइटेड क्लब झापा १२ औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । रारा फुटबल क्लबको आयोजनामा धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा भइरहेको प्रतियोगिताको बुधबारको खेलमा बिर्तामोडले साविक विजेता सिरहाको सहलेश फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्यो ।
पुण्य माविको खेलमैदानमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जहाँ बिर्तामोडका आशिष चापागाईं र विक्रम तामाङले तथा सहलेशका आदित्य शाक्यले गोल गरे ।
बिर्तामोड युनाइटेडका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका दुई पेनाल्टी बचाएपछि बिर्तामोड विजयी भएको हो । प्लेयर अफ द म्याच पनि चुनिएका अभिषेकले नगद ७ हजार ५ सय पुरस्कार पाए ।
११ औं संस्करणमा सहलेससँग पराजित भएको बिर्तामोडले यस पटक त्यसको बदला लिएको हो । बिहीबार ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र बागमती युथ क्लब सर्लाहीबीच खेल हुनेछ । जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछ । हरेक विधाका सर्वोत्कृष्ट खेलाडीले जनही १० हजार नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए ।
