प्लानिङ ब्वाइजले कमायो ‘ए’ डिभिजन हैसियत

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Planning Boys earned 'A' Division status

काठमाडौँ — नेपाली घरेलु फुटबलले एउटा नयाँ ‘ए’ डिभिजन हैसियत भएको क्लब पाएको छ र यो रहेको छ, प्लानिङ ब्वाइज । स्थापनाको १३ वर्षपछि यो क्लब सहिद स्मारक लिग ‘बी’ डिभिजनबाट माथि उक्लने निश्चित भएको हो । उसले मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीलाई २–० ले हरायो । 

यो जितपछि काठमाडौं पेप्सीकोला टाउन प्लानिङको क्लब ११ खेलबाट २७ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । लिगको अन्तिम दुई खेल अगाडि नै प्लानिङ ब्वाइजले यो ऐतिहासिक उपलब्धि बटुलेको हो । ‘सी’ डिभिजनबाट ०७९ सालमा उक्लेको लगत्तै अर्को संस्करणमा क्लब ‘ए’ डिभिजन पुगेको हो । 

‘हामी असाध्यै खुसी छौं । अब हामी खुसी नै खुसी मनाउन चाहन्छौं । अहिलेसम्म हामी अपराजित छौं र यही क्रमलाई कायम राख्न चाहन्छौं,’ क्लबका प्रशिक्षक सचिन्द्र धिमालले भने, ‘यो सबै कडा मिहिनेतले सम्भव भएको हो । सबैको सपना ए डिभिजन पुग्ने नै हुँदो रहेछ, हामीले यो पूरा गरेका छौं ।’

मंगलबार नै भएको पहिलो खेलमा सरस्वतीले तेस्रोमा रहेको वीरगन्ज युनाइटेडलाई ३–० ले हराएपछि प्लानिङ ब्वाइजलाई त्यही दिनको खेलमा बराबरी नै पर्याप्त रहने थियो । तर बाँसबारीका गोलरक्षक सन्दीप राउतले दुई अविश्वसनीय भूल गरेपछि प्लानिङ ब्वाइजको जित निश्चित भएको थियो । उनले पूरा खेल अवधिमा केही उत्कृष्ट बचाउ त गरे, तर दुई मोडमा नराम्रोसँग चुके । खेलको ४७ औं मिनेटमा सम्भव पहिलो गोल उनकै नाममा आत्मघाती रह्यो ।

पुजन थापाले प्लानिङका लागि ८१ औं मिनेटमा दोस्रो गोल गरे । यसमा पनि पुजनको भन्दा सन्दीपकै बढी भूमिका थियो । हारले बाँसबारी १५ अंकमै सीमित रह्यो । ‘हामीले यो प्रतियोगिताका लागि धेरै अगाडिदेखि तयारी गरेका थियौं । यसका लागि व्यवस्थापनले पनि बलियो साथ दियो । हामीसँग अधिकांश खेलाडी सी डिभिजनकै बेलाका छन् । त्यसैले पनि टिममा एकता रह्यो,’ प्रशिक्षक धिमालले भने, ‘कम्तीमा दुई खेल अगाडि नै हामीले बढुवा हुने भने सोचका थिएनौं ।’

प्लानिङ ब्वाइजले अहिलेसम्म ११ खेलमध्ये आठमा जित निकालेको छ भने तीनमा बराबरी खेलेको छ । ‘हाम्रो यात्रा केही उतारचढावपूर्ण रह्यो, यसअघिकै चरणमा हामी बढुवा हुनुपर्ने थियो, तर अनुकूल नतिजा आएन । तर आज बढुवा सम्भव भएको छ । हामी सबै खेलाडी लामो समयदेखि सँगै छौं र सबै खुसी छौं,’ कप्तान विशाल दर्जीले भने । यस्तै टिमको प्रदर्शनमा महत्त्वपूर्ण योगदान रहेका अग्रपंक्तिका खेलाडी फागुराम थारुले बढुवापछि खुसीको सीमा नै नभएको प्रतिक्रिया दिए । ‘सी’ डिभिजन खेल्दासम्म जुत्ता लगाउँदा अप्ठ्यारो महसुस गर्ने थारुले महत्त्वपूर्ण खेलमा निर्णायक गोल गरेका छन् । 

सरस्वतीका लागि पूरा दिन नै खुसीको रह्यो । सुरुमा सरस्वतीले तीन अंक फिर्ता पाएको थियो र उसका प्रमुख खेलाडी धीरेन्द्र शाहको प्रतिबन्ध पनि फुकुवा भएको थियो । त्यस लगत्तै मैदानमा उत्रेका धीरेन्द्रले गोल पनि गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले उनलाई यस प्रतियोगिता खेल्न योग्य मानेको थियो । 

सरस्वतीले खेलको १८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै टिमलाई अगाडि राखे । नरेश खत्रीले ५६ औं मिनेटमा दोस्रो गोल थपे भने धीरेन्द्रले ७२ औं मिनेटमा तेस्रो गोल गरे । यसअघि नयाँ बस्तीले धीरेन्द्रविरुद्ध उजुरी गरेको थियो । 

सरस्वतीले नयाँ बस्तीविरुद्धको खेल जिते पनि त्यसको नतिजा नयाँ बस्तीलाई सुम्पेको थियो । अब सरस्वतीको जित कायम रहनेछ । यससँगै सरस्वतीको १५ अंक भएको छ । वीरगन्ज भने १६ अंकमै कायम रह्यो । 

कान्तिपुर

Link copied successfully