जनकपुरधाम — जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा बाराका विवेक यादवले शतक प्रहार गरेका छन्। बुधबार दिल्लीविरुद्ध उनले शतक प्रहार गरेका हुन्। यस प्रतियोगितामा शतक प्रहार गर्ने राष्ट्रिय खेलाडी समेत रहेका विवेक पहिलो खेलाडी बनेका छन्।
उनले ५३ बलमा आठ चौका र सात छक्काको मद्दतले १०४ रन बनाएका हुन्। यस प्रतियोगितामा मात्र दुई खेल खेलेका विवेकले जम्मा १६७ रन बनाएका छन्। यसअघि पर्सासँगको खेलमा उनले ६३ रन बनाएका थिए।
टस जितेर दिल्ली टिमले बारालाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। बाराका खेलाडीहरूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २१८ रनको लक्ष्य दिल्ली टिमसमक्ष प्रस्तुत गरेका थिए। यो स्कोर प्रतियोगिताको अहिलेसम्मको सबैभन्दा उच्च स्कोर हो।
बाराका लागि विवेक यादवले ५३ बलमा १०४ रन, कप्तान पवन सराफले १४ बलमा ३१ रन, आदिल अन्सारीले २० बलमा ३३ रन, तृत दासले १२ बलमा १९ रन र शाहिल पट्टेलले ११ बलमा १५ रन बनाएका थिए। दिल्लीका लागि बलिङ गरेका आदित्य सिन्हाले तीन ओभरमा २५ रन खर्चेर चार विकेट लिएका थिए भने रोहित त्रिपाठी, वैभव मिश्र र राहुल द्विवेदीले एक–एक विकेट लिएका थिए।
आजको खेलमा जित हासिल गर्ने टिम सेमिफाइनलमा पुग्नेछ। यसअघि महोत्तरी, मुजफ्फरपुर र लखनउ सेमिफाइनलमा पुगिसकेका छन्।
