डीएभीलाई उपाधि

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Title to DAV

काठमाडौँ — प्रसिद्ध जैसीले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि डीएभी स्कुलले दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डीएभीले सोमबार भएको फाइनलमा गेटवे एकेडेमीलाई ७ विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको गेटवे मूलपानीको तल्लो क्रिकेट मैदानमा १९.३ ओभरमा ७२ रनमा अलआउट भयो । टोलीबाट मुसिद इक्बालले २३ बलमा १५ र सबिर अन्सारीले १२ बलमा ११ रन बनाए । डीएभीका कमल शाहीले ९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै प्रसिद्धले १३ रन खर्चेर ३ र केशव अग्रवालले २ विकेट लिए ।

प्रसिद्धले ४५ बलमा अविजित ३५ रन बनाएपछि डीएभीले १६.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । मायंककुमार शाहले १४ बलमा १६ रन बनाए । गेटवेका उज्ज्वल गुप्ताले २ र साइमन पन्तले १ विकेट लिए । प्रसिद्ध प्लेयर अफ द फाइनलमा चुनिए । काठमाडौं जिल्ला क्रिकेट संघले काठमाडौं जिल्ला यू–१६ छनोटको आधार पनि रहेको प्रतियोगिता आयोजना गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully