लन्डन — युरोपेली च्याम्पियन्स लिगको छनोटका लागि गति समात्ने टिम रह्यो, न्युकासल युनाइटेड । यसका लागि उसले महत्त्वपूर्ण खेलमा शीर्ष पाँचको प्रतिद्वन्द्वी चेल्सीलाई हरायो । च्याम्पियन टिम लिभरपुल छाड्ने निर्णयपछि ट्रेन्ट एलेक्जान्डर–आर्नोल्डले क्लब समर्थकको निराशा पनि सुने । साउथह्याम्पटनले भने यसबीच त्यस्तो कीर्तिमान आफ्नो नाम जोडिनबाट जोगाए, जसमा कुनै गर्व हुने थिएन । इंग्लिस प्रिमियर लिगमा यस सप्ताहन्तको खेलपछिका तीन विशेष क्षण यी रहे ।
न्युकासलको बलियो दाबेदारी
सेन्ट जेम्स पार्कमा भएको खेलमा चेल्सीलाई २–० ले हराएपछि न्युकासलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लगभग तय जस्तै भएको छ । तर प्रशिक्षक एडी हाउ अझै ढुक्क हुन सकेका छैनन् र आफ्ना खेलाडीलाई आराम महसुस नगर्न चेतावनी दिन्छन् । हाउको टिम अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । अब लिगका अन्तिम दुई खेलमा तीन अंक उसका लागि पर्याप्त हुनेछ, शीर्ष पाँच स्थानमा रहनका लागि । त्यसमाथि पाँचौं स्थानमा रहेको चेल्सीमाथि उसलाई गोल अन्तरको फाइदा पनि छ ।
चेल्सी र छैटौंमा रहेको एस्टन भिल्ला दुवै न्युकासलभन्दा तीन अंकले पछाडि छन् । हाउ अझै ढुक्क हुन नसकेको कारण हो, न्युकासलका अबका उसका दुई खेल । अबको उसको प्रतिद्वन्द्वी हो, दोस्रोमा रहेको आर्सनल । त्यसपछि अन्तिम दिन एभरटनविरुद्ध खेल्नुपर्नेछ । लिग कप च्याम्पियनसामु तीन सिजनमा दोस्रोपल्ट च्याम्पियन्स लिगमा छनोट हुने अवसर हुनेछ, यसमा उसलाई म्यानचेस्टर सिटीदेखि नटिङ्घम फरेस्टसम्मले व्यवधान पुर्याउने प्रयास हुनेछ ।
त्यसैले त हाउले भनेका हुन्, ‘हामीलाई अझै दुई खेल खेल्नु छ । लिगमा अझै धेरै उतारचढाव बाँकी छन् । अब हाम्रो ध्यान आर्सनलविरुद्धको खेलमा केन्द्रित हुनुपर्नेछ । यो खेल पक्कै पनि सजिलो हुने छैन । हाम्रो अगाडि–पछाडि सबै टिमको स्थिति यस्तै छ । त्यसैले हामी अझै पनि ढुक्क हुन सकेका छैनौं ।’
आर्नोल्डलाई गाह्रो
प्रशिक्षक आर्ने स्लटलाई लिगका अन्तिम दुई खेलमा ट्रेन्ट एलेक्जान्डर–आर्नोल्डलाई खेलाउने कुरामा कुनै दुविधा हुने छैन । तर एनफिल्डमा भएको आर्सनलविरुद्धको खेलमा लिभरपुल समर्थक उनीविरुद्ध खुसी देखिएनन् । ती समर्थकले उनीप्रति आफ्नो आक्रोश नै पोखे । आर्सनलविरुद्ध सब्स्टिच्युट खेलाडीका रूपमा आर्नोल्ड मैदानमा छिरेका थिए । यो सिजनको अन्त्यसँगै उनी क्लब छाड्दै छन् । उनी रियल म्याड्रिड जाने अपेक्षा गरिएको छ ।
लिभरपुलका अन्तिम दुई खेल ब्राइटन र क्रिस्टल प्यालेसविरुद्ध रहेको छ । स्लटले यी दुवै खेलमा आर्नोल्डलाई खेलाउने मनसाय देखाएका छन् । ‘म फुटबलमा खेल्न जित्नेमा विश्वास गर्छु र मलाई लाग्छ, आर्नोल्डसँग यस्तो जित हात पार्न सकिन्छ । मलाई क्लबले अनुबन्ध गरेको भनेकै जित्नका लागि हो,’ स्लट भन्छन् । आर्नोल्डले लिभरपुलबाट दुईपल्ट लिग र एकपल्ट च्याम्पियन्स लिग पनि जिते । त्यो खेल सकेपछि उनी स्तब्ध देखिएका थिए ।
साउथह्याम्पटनलाई राहत
म्यानचेस्टर सिटीविरुद्धको खेल गोलरहित बराबरीमा टुंगेपछि पूरा सेन्ट मेरिजमा राहत महसुस गरियो र यसको कारण थियो, अब कसैले यो टिमलाई प्रिमियर लिग इतिहासकै सबैभन्दा खराब भन्ने छैन । टिम अंक तालिकाको पुछारमा छ र रेलिगेसनमा परिसकेको छ । तर सिटीलाई बराबरीमा रोकेपछि साउथह्याम्पटनको १२ अंक भएको छ । सन् २००७–२००८ मा डर्बी ११ अंकमै सीमित रहेर रेलिगेसनमा परेको थियो र यो नै कुनै क्लबको अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो ।
क्लबका निमिक्त प्रशिक्षक सिमोन रस्क भन्छन्, ‘मलाई थाहा छ, त्यो खराब प्रदर्शनको इतिहास साउथह्याम्पटनसँग जोडिनेछ भनेर समर्थक कति धेरै डर मानिरहेका थिए । तर मेरो काम भनेको टिमको प्रदर्शनमै ध्यान दिनु थियो । अहिले हामी राम्रो महसुस गरिरहेका छौं । साँच्चै भन्दा रेफ्रीले खेल सकेको ह्विसल बजाउँदा कम्तीमा मैले राहत महसुस गरें ।’
