सिरहा र बाराको सहज जित

वैशाख ३०, २०८२

कमलेश ठाकुर

Easy wins for Siraha and Bara

जनकपुरधाम — सिरहा र बाराले तेस्रो जनकपुरधाम मेयर कपमा सोमबार सहज जित निकालेको छ । रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशालामा सिरहाले रौतहटलाई ३६ रनले र बाराले पर्सालाई १ सय १२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ९ रन बनाएको थियो । अशोक पौडेलले २० बलमा २४, कृषि अएर १९ बलमा २४ र दीपेश दासले २१ बलमा १९ रन बनाए । 

रौतहटका आशिष बैठाले ४ ओभरमा २० रन खर्चेर ४, मोहन घिमिरेले ४ ओभरमा १५ रन खर्चेर ३ र सनी साहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

जवाफमा रौतहट १७.५ ओभरमा ७३ रनमै अलआउट भयो । रनवीर यादवले २५ बलमा २० र राजेश यादवले २५ बलमा २१ रन बनाए । सिरहाका प्रदीप पासवानले ४ ओभरमा १२ रन खर्चेर ३, रूपेश सिंह र फतेह सिद्दिकीले २–२ तथा अफरुद्दिन राइन र अशोक पौडेलले १–१ विकेट लिए । 

दोस्रो खेलमा टस जितेको बाराले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो । विवेक यादवले ३० बलमा ७ छक्का र ३ चौकाको मद्दतले ६३, अरनिको यादवले २२ बलमा २५, निखिल सिंहले ११ बलमा अविजित १८ रन बनाए । पर्साका रञ्जित कुमारले ३, वासिम मन्सुरी र अनुज चौहानले २–२ तथा चन्दन रामले १ विकेट लिए । 

जवाफमा पर्सा १७.३ ओभरमा ६२ रनमै अलआउट भयो । राजा मन्सुरीले २४ बलमा १८ र सफवान अलीले १२ बलमा ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बाराका भुलावन सहनीेले ४ ओभरमा मात्र ८ रन खर्चेर ४, पवन सर्राफले २.५ ओभरमा ५ रन खर्चेर ३ र कमल गुप्ताले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully