काठमाडौँ — डीएभी स्कुल र गेटवे एकेडेमी दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरस्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । काठमाडौं जिल्ला यू–१६ छनोटको आधार पनि रहेको प्रतियोगिताको सेमिफाइनलमा डीएभीले सैनिक आवासीय महाविद्यालयलाई ६ विकेटले र गेटवेले मोक्क्षदा स्कुललाई १ सय ३१ रनले पराजित गर्यो ।
डीएभीले मूलपानीको तल्लो क्रिकेट मैदानमा भएको सेमिफाइनलमा ९३ रनको लक्ष्य १५.५ ओभरमा पूरा गर्यो । प्रसिद्ध जैसीले ३८ बलमा ५३ र कमल शाहीले १९ बलमा १७ रनको अविजित इनिङ्स खेल्दै डीएभीलाई विजयी बनाए । सत्यम बस्नेत १९ बलमा ११ रन बनाई आउट भए । सैनिकका शुभम विष्ट, समीर केसी र सफल पौडेलले १–१ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९२ रन मात्र बनाउन सकेको थियो । गौरव कार्कीले ५३ बलमा ३०, रिशु शाहले ८ बलमा १४ र सुशान्त नेपालले १२ बलमा ११ रन बनाएका थिए । डीएभीका कमलले ३ तथा प्रसिद्ध र प्रसंग पौडेलले १–१ विकेट लिए ।
सबिर अन्सारीको शतकमा गेटवेले त्रिवि क्रिकेट मैदानमा २ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । प्लेयर अफ द म्याच सबिरले ६० बलमा अविजित १ सय १४ रन बनाए । अमित पटेलले ६० बलमा ६० रन बनाए । मोक्क्षदाबाट दुवै विकेट ईशान शाह सुवेदीले लिए । ईशानले २२ बलमा ३३ रन बनाए पनि मोक्क्षदा २० ओभर खेली ७३ रनमा अलआउट भयो । गेटवेका पारस विष्ट, लक्ष्मण भुर्तेल र साइमन पन्तले २–२ विकेट लिए । फाइनल सोमबार हुनेछ ।
