राष्ट्रिय खोखोको उपाधि नेपाल आर्मीलाई

वैशाख २८, २०८२

दुर्गालाल केसी

National Khokho title to Nepal Army

दाङ — प्रथम राष्ट्रिय खुला खोखो प्रतियोगिता-२०८२ को उपाधि नेपाल आर्मीले जितेको छ । दाङ जिल्ला खोखो संघको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनिको प्रवर्द्धन एवं तुलसीपुर उपमहानगरपालिकाको मुख्य प्रायोजनमा अरनिको खेल मैदान तुलसीपुरमा प्रतियोगिता संचालन भएको थियो ।

आइतबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २०-१६ अंकले पराजित गर्दै विभागीय टिम नेपाल आर्मीले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र हात पार्‍यो । फाइनल खेलमा सम्मानजक हार ब्यहोरेको लुम्बिनी प्रदेश उपविजेतामा समिति रहँदै नगद २५ हजार, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । तीन दिनसम्म संचालन भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तृतीय भयो । उसले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र हात पार्‍यो । 

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ बेष्ट प्लेयर खेलाडी नेपाल आर्मीका बेदबहादुर वली, बेष्ट डिफेन्स लुम्बिनी प्रदेशका विकास बिक र बेष्ट अट्याकर नेपाल आर्मीका बिष्णु थारु भए । उनीहरूलाई विधागत प्रमाणपत्रका साथमा ट्र्फी प्रदान गरिएको थियो । 

प्रतियोगितामा एक विभागीय टिम नेपाल आर्मी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेश गरी जम्मा ७ टिमको सहभागिता थियो । प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा दाङ जिल्ला खो खो संघका अध्यक्ष बालकृष्ण शाह, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतम र नेपाल खोखो संघका केन्द्रीय अध्यक्ष प्रदीप महर्जनको सहभागिता थियो ।

सो अवसरमा हालै सम्पन्न विश्वकप खोखोमा नेपाल टिमको प्रतिनिधित्व गर्दै नेपाललाई उपविजेताको ट्रफी दिलाउन सफल दाङका बेदबहादुर वलीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै नेपाल टिमको प्रशिक्षकको महत्त्वपूर्ण भूमिका निर्वाह गरेर नेपाललाई उपविजेताको स्थान दिलाउन भूमिका निर्वाह गरेको भन्दै नेपाल खोखो संघका केन्द्रीय सदस्य उषा कवर मगरलाई सम्मान गरिएको थियो ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully