जनकपुरधाम — जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा महोत्तरी र मुजफ्फरपुर प्रवेश गरेका छन् । आइतबार सर्लाहीलाई आठ विकेटले हराउँदै मुजफ्फरपुर र रन रेटका अधारमा महोत्तरी सेमिफानलमा प्रवेश गरेको हो ।
समूह ‘ए’ बाट महोत्तरी र समूह ‘बी’बाट मुजफ्फरपुर सेमिफाइनलमा पुगेको आयोजक संस्थाले जनाएको छ । शनिबार भएको दोस्रो खेलमा सर्लाहीले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य मुजफ्फरपुरसमक्ष प्रस्तुत गरेको थियो । सर्लाहीका लागि रञ्जित यादवले ४४ रन, परिमार्जन यादवले ४१, विशाल पटेलले १७, जितेश मण्डलले १७, सुनिल दास कथवनियाले १७ र गोपिकान्त मुखियाले १२ रनको योगदान दिए ।
मुजफ्फरपुरका लागि सचिनकुमार सिंहले ३ विकेट, रवि शर्मा र आशुतोष कुमारले २/२ र मयंक कुमारले १ विकेट लिए । मुजफ्फरपुरले १७ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । मुजफ्फरपुरको तर्फबाट रवि शर्माले अविजित रहँदै ४५ बलमा ८० रन, आलोक कुमार ३७, सचिनकुमार सिंहले २४ र इमरान नाजिरले १६ रन बनाए । सर्लाहीको तर्फबाट बलिङ गर्दै विशाल पटेल र निरज यादवले समान १/१ विकेट लिए । यस खेलको म्यान अफ द म्याच मुजफ्फरपुरका रवि शर्मा घोषित भए ।
यस्तै आइतबार सीतामढी र धनुषाबीचको खेलमा डीएलएस मेथडबाट धनुषा विजय भएको छ । प्रतियोगितामा भारतका चारसहित मधेश प्रदेशका आठ टिम सहभागी छन् । समूह ‘ए’ र समूह ‘बी’ को लिग चरण सकिएको छ । सोमबारदेखि समूह ‘सी’ र ‘डी’का खेल हुने छन् । सोमबार पहिलो खेल रौतहट र सिरहाबीच हुने आयोजक संस्थाले जनाएको छ ।
