इंग्लिस प्रिमियर लिगको पुछारमा रहेका म्यानचेस्टर युनाइटेड र टोटेनहम युरोपा लिगको फाइनलमा
लन्डन — म्यानचेस्टर युनाइटेड कि टोटेनहम । यी दुईमध्ये एकले सर्वथा खराब सिजनलाई युरोपा लिग फुटबलको महिमासँगै टुंग्याउन सक्नेछन् । दुवै टिम इंग्लिस प्रिमियर लिग तालिकामा पुछारतिर छन् भन्दा हुन्छ । रेलिगेसन क्षेत्रबाट केही माथि मात्रै ।
यिनै दुई टिम एकले एक जितपछि ‘बम्पर’ सफलता प्राप्त गर्न सक्नेछ । यो हो, युरोपेली च्याम्पियन्स लिगमा प्रवेश । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको फाइनल पुगेपछि समस्यामा रहेका यी दुई इंग्लिस क्लबसामु यो पुरस्कारको मौका बनेको हो ।
युनाइटेडले सेमिफाइनल दोस्रो लेगको ओल्ड ट्राफोर्डमा भएको खेलमा एथलेटिक बिलबाओलाई ४–१ ले हरायो र समग्रमा ७–१ ले अग्रता बनाएर अगाडि बढ्यो ।
टोटेनहमले भने बोडो/ग्लिम्टमाथि २–० ले सेमिफाइनल दोस्रो लेगको जित रच्दै समग्रमा ५–१ को अग्रता हात पार्यो । यस्तोमा ६ वर्षयता पहिलो पटक युरोपा लिगको फाइनलमा दुई इंग्लिस क्लब भिड्न लागेका छन् । सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएर युरोपा लिग जितेको थियो ।
‘यदि फाइनलमा जितिएन भने यहाँसम्म पुग्नुको केही अर्थ छैन,’ युनाइटेडका प्रशिक्षक रुबने एमोरिमले भनेका छन्, ‘यो स्थितिमा प्रशिक्षकको स्थिति कस्तो हुन्छ, त्यो शब्दले नै बयान गर्न सकिन्न । हामी आफ्ना समर्थकलाई केही विशेष दिन चाहन्छौं, किनभने हाम्रो प्रिमियर लिग यात्रा यसपल्ट असाध्यै खराब रह्यो ।’
बिलबाओविरुद्ध युनाइटेड सुरुमै एक गोलले पछाडि थियो । तर वैकल्पिक खेलाडी रहेका मेसन माउन्टले दुई गोल गरेका थिए । कासेमिरो र रसमस होजलुन्डले १–१ गोल थपेपछि युनाइटेड विजयी रह्यो । नर्वेली भूमिमा भएको खेलमा बोडो/ग्लिम्टविरुद्ध टोटेनहमबाट गोल गर्ने खेलाडी रहे डोमिनिक सलोन्की र पेड्रो पोरो । स्पर्सका डिफेन्डर मिकी भान ड भेन भन्छन्, ‘अहिलेको स्थिति साँच्चै अपत्यारिलो छ । यसपल्ट हाम्रो सिजन राम्रो चल्न सकेन, तर हामी एकै जितमात्र टाढा छौं, कुनै उपाधि जित्नबाट । यो एक उपाधि यस्तो उपलब्धि हुनेछ, जसले पूरा सिजन खराब प्रदर्शनको शृंखला छोप्ने छ ।
यो यस्तो उपाधि हुनेछ, जसले विजेतालाई अर्को सिजन अत्यन्त आकर्षित र लोभलाग्दो च्याम्पियन्स लिगमा पनि छनोट गराउने छ । तर, घरेलु टिममा यी टिम दुवैको प्रदर्शनको छाँट हेर्ने हो भने यो अवसर पटक्कै सुहाउने देखिँदैन । दुवै साँच्चै अंक तालिकाको शीर्ष पाँचमा छैनन् । बरू छन् त रेलिगेसन क्षेत्रको ठीक माथि । युनाइटेड १५औं स्थानमा छ । टोलीले यसपल्ट कीर्तिमान संख्यामा १६ खेल गुमाइसकेको छ । यति मात्र कहाँ हो र ? युनाइटेड आधुनिक समय सबैभन्दा खराब र कम अंकमा रहनेछ अनि लिग तालिकामा सबैभन्दा तल रहने इतिहास बन्ने छ ।
टोटेनहमको स्थिति त अझ धेरै खराब छ । यो उत्तरी लन्डन क्लब युनाइटेडको भन्दा एक स्थान पछाडि छ । टोलीले पनि प्रिमियर लिगकै आफ्नो खराब इतिहास बनाउने क्रममा १९ खेल गुमाइसकेको छ । संयोगले दुवै टिम यसपल्टको सिजनमा चौथोपल्ट एकअर्काविरुद्ध खेल्दै छन् ।
टोटेनहम यसअघिका तीनै खेलमा विजेता छ । त्यसमध्ये दुई जित लिगको छ भने एक इंग्लिस लिग कपमा । एमोरिम भन्छन्, ‘हामी दुवै क्लबको प्रदर्शन खराब छ, हामी संघर्ष गरिरहेका छौं । खासमै के भइरहेको छ, त्यो राम्रो हो वा होइन, त्यो मलाई पनि थाहा छैन ।’
युनाइटेड सन् २०१७ यता पहिलो पटक युरोपा लिगको फाइनल पुगेको छ । त्यतिबेला टिम विजेता बनेको थियो । समग्रमा युनाइटेड तेस्रोपल्ट यो प्रतियोगिताको फाइनल खेल्दै छ ।
युनाइटेडले गत वर्ष एफए कप जितेको थियो अनि सन् २०२३ मा लिग कप । यस्तोमा टिमसामु लगातार तेस्रो सिजन कुनै न कुनै उपाधि जित्ने अवसर बनेको छ । स्पोर्टिङ लिस्वनका लागि दुई पोर्चुगाली लिग उपाधि जितेपछि अहिले एमोरिम युनाइटेडका लागि केही जित्ने संघारमा छन् । ‘यो त असाध्यै ठूलो अवसर हो अनि निकै महत्त्वपूर्ण हुनेछ,’ एमोरिम थप्छन् ।
अर्कोतर्फ टोटेनहमका प्रशिक्षक एन्ज पोस्टेकोग्लुसँग आफ्नो टिमले जित्ने फरक तर्क छ । उनी के मान्छन् भने प्रत्येक एक सिजनपछि उपाधि जित्ने बानी छ । हो पनि । ब्रिसवेन रोर, योकोहामा र सेल्टिकका लागि क्लब सम्हालेको दोस्रो सिजन एक उपाधि त जितेकै छन् उनले । स्पर्सले अन्तिम पटक केही जितेको भनेको सन् २००८ मा लिग कप हो । पोस्टेकोग्लु भन्छन्, ‘अहिले जे जस्तो स्थिति छ, त्यसमा धेरैलाई चित्त नबुझ्न सक्छ । तर युरोपा लिगको उपाधि जित्न सकिन्छ भने प्रिमियर लिगमा खराब प्रदर्शन कसलाई पो हेक्का हुन्छ र ?’
