पाल्पा — माथागढी गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तरपालिका फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बगनासकाली गाउँपालिकालाई तिनाउ गाउँपालिकाले ५–१ गोलले पछि पारेको छ ।
तिनाउ गाउँपालिकाका खेलाडी अस्विन शर्माले एक्लै ५ गोल गरेका हुन् । खेल सुरु भएको ३ मिनेटमै गोल गरेका शर्माको गोललाई बगनासकालीका लखन दिशा मगरले कर्नरबाटै गोल गरेर बराबरी गरे । तर अस्विनले ४ गोल थपेर प्रतियोगिताको प्लेयर अफ दि म्याच भए ।
प्रतियोगितामा बगनासकाली र तिनाउ गाउँपालिकाका साथै तानसेन र रामपुर नगरपालिका र आयोजक माथागढी गरी ६ टिमको सहभागिता रहेको छ । कसेनी सराई खेलमैदानमा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गर्दै खेलाडीलाई हौसला बढाउनका लागि यस्ता प्रतियोगिता भइरहनुपर्नेमा जोड दिए ।
उनले तल्लो तहबाट खेलाडी तयार भएर माथिल्लो तहसम्म मात्र होइन विदेशमासमेत चर्चित हुने गरेको उदाहरण धेरै भएकाले मिहिनेत गर्नुपर्नेमा जोड दिए । माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले पहाडी जिल्लाको विभिन्न खेल मैदानमध्ये कसेनी सराईको खेल मैदानलाई गाउँपालिकाको मात्र नभइ पाल्पा जिल्लाको खेल मैदानको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । उनले खेल मैदान विकासका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको बताए ।
माथागढी गाउँपालिकालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरेको खेल संयोजक तेजबहादुर घर्तिले बताए । विगतमा माथागढी कप फुटबल प्रतियोगिता आयोजना गरे पनि यसपटक अन्तरपालिका गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका घर्तिले बताए । जसले गर्दा पालिकाबीच खेलमा सिकाइ हुने उनको विश्वास छ ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख र उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाउने शिक्षा शाखा संयोजक प्रकाश पाठकले बताए ।
