काठमाडौँ — स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्ने आफ्ना ५ खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुँवेरप्रकाश सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेतालाई सम्मान गरे । सबै खेलाडीलाई जनही १० हजार, मायाको चिनोसहित सम्मान गरियो ।
स्ट्याग च्याम्पियन्स लगातार नौ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वैशाख ११ देखि १४ सम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्य पदक जितेको थियो । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यू–१९ उमेर समूहमा गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यू–१५ मा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या शाक्यलाई सम्मान गरेको हो ।
गन्जयय र प्रवेश यू–१९ को ब्वाइज टिम इभेन्टमा विजेता भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसलाई समेत छनोट भएका छन् ।
