हाफ म्याराथनमा सञ्जय र पूर्णलक्ष्मी विजेता

वैशाख २७, २०८२

डम्बरसिं राई

Sanjay and Purnalakshmi winners in half marathon

खोटाङ — खुला पुरुष/महिला हाफ म्याराथनमा आर्मीका सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा दिक्तेलमा शनिबार आयोजित दौडमा रणभीम गणका सञ्जयले उपाधि जिते ।

उनले १ घण्टा ८ मिनेट १४ सेकेन्डमा दूरी पार गरे । उनले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार जिते । आर्मीकै नरेन्द्रसिंह रावलले १ घण्टा ९ मिनेट २० सेकेन्डबाट दोस्रो स्थान ओगटे । उनले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाए । आर्मीका सुशील शाही १ घण्टा ९ मिनेट ४६ सेकेन्डबाट तेस्रो भए । उनले २५ हजार ५ सय ५५ रुपैयाँ जिते ।

प्रतियोगितामा अजितकुमार यादव चौथो, सरोज लिम्बू पाँचौं, रामजी बस्नेत छैटौ र कर्णबहादुर रोका मगर सातौं भए । चौथोले १५ हजार ५५५, पाँचौंले ११ हजार १११, छैटौंले ७ हजार ७७७ र आठौंले ५ हजार ५५५ रुपैयाँ पुरस्कार पाएका छन् ।

महिलातर्फ पूर्णलक्ष्मीले एक घण्टा २७ मिनेट १६ सेकेन्डमा दूरी पार गरिन् । उनले ७७ हजार ७ सय ७७ रुपैयाँ पुस्कार जितिन् । निर्मला केसीले १ घण्टा २७ मिनेट ४० सेकेन्डबाट दोस्रो र निशा सार्कीले १ घण्टा २७ मिनेट ४९ सेकेन्डबाट तेस्रो भए । निर्मलाले ५५ हजार ५५५ र निशाले २५ हजार ५५५ रुपैयाँ पुरस्कार पाए । दुवै आर्मीका हुन् ।

पाँचथरकी पुष्पा शेर्पा चौथो, खोटाङकी दीपा बस्नेत पाँचौं, भोजपुरकी रुस्मा राई छैटौं र रणभीम गणकी अमिशा राई सातौ भए । उनीहरूले पुरुषकै जति पुरस्कार पाए । १० किमि पुरुष दौड (१५ वर्षमाथि) मा काठमाडौंका गजेन्द्र राई, सिन्धुपाल्चोकका मिङ्मार तामाङ र जुम्लाका प्रकाश कठायत शीर्ष तीन स्थानमा विजयी भए । उनीहरूले क्रमशः १५, १० र ७ हजार रुपैयाँ पुरस्कार पाएका छन् । सोही इभेन्टको महिलातर्फ आर्मीकी सिर्जना पाण्डे पहिलो, पुलिसकी सुमित्रा चौधरी दोस्रो र रणभीम गणकी सिर्जना राई तेस्रो भए । उनीहरूले क्रमशः १५, १० र ७ हजार पुरस्कार पाएका छन् ।

३५ वर्षमाथि ७ किमि दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, पुलिस क्लवका भूमिराज राई दोस्रो र दिक्तेल रूपाकोटका शिवप्रसाद राई तेस्रो भए । उनीहरूले क्रमशः १५, १० र ७ हजार पुरस्कार पाएका छन् ।

१२–१५ वर्षसम्म ७ किमि छात्र दौडमा केपिलासगढी गाउँपालिकाका सम्राट राई पहिलो, दिक्तेलका कृष्ण राई दोस्रो र दिक्तेल सोल्माका अनिश कार्की तेस्रो भए । छात्रातर्फ भोजपुरकी जुही राई पहिलो, उर्लाबारीकी पूजा महतारा दोस्रो र विनिता राई तेस्रो भए । दुवै विजेताले ७ हजार ५ सय, दोस्रोले ६ हजार ५ सय र तेस्रोले ५ हजार ५ सय पाए । आमाहरूको ५ किमि दौडमा रणभीम गणकी सुस्मा तामाङ पहिलो, दिक्तेलकी सरिता राई दोस्रो र दिक्तेल सोल्माकी मुगासरा राई तेस्रो भएका छन् । उनीहरूले क्रमशः ५ हजार ५ सय, ३ हजार ५ सय र २ हजार ५ सय पाए । ६० वर्षमाथिका पुरुष २ सय मिटर दौडमा इलामका बुद्धवीर लामा पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र निलबहादुर श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः ५ हजार ५ सय, ३ हजार ५ सय, २ हजार ५ सय पुरस्कार पाएका छन् ।

२ किमि छात्रतर्फ भोजपुरका सफल राई पहिलो, हिलसाइडका निसान केसी दोस्रो र जनजागृतिका लिलाम राई तेस्रो भएका छन् । छात्रामा भोजपुरकी करिना राई पहिलो, केपिलासगढीकी सरु राई दोस्रो र लफ्याङकी मन्दिरा श्रेष्ठ तेस्रो भए । १० वर्षमुनि छात्र एक माइल दौडमा जनजागृतिका एन्जल राई, दिक्तेल इङ्लिसका विधान जोशी र माउण्ट एभरेस्टका जिवान्स आचार्य तथा छात्रामा भोजपुरकी निस्मा राई, लफ्याङकी श्रद्धा राई र योगिना राई शीर्ष तीन स्थानमा विजयी भए ।

विजेतालाई कोशी प्रदेश सामाजिक विकासमन्त्री पााचकर्ण राईले पुरस्कृत गरे । महोत्सवको अवसरमा वैशाख ३० र ३१ मा टेबलटेनिस र बुद्धिचाल तथा जेठ ४ मा खुला राष्ट्रिय साहित्य महोत्सव गरिने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully