‘रिटायर्ड आउट’

वैशाख २७, २०८२

एजेन्सी

”Retired Out”

बैंकक — महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटमा शनिबार यूएई र कतार बीचको खेलमा बैंककमा दुर्लभ दृश्य देखा पर्‍यो । यूएईका सवै १० ब्याटर ‘रिटायर्ड आउट’ भए । पुरुष र महिलाको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो पटक २ भन्दा खेलाडी ‘रिटायर्ड आउट’ भएका हुन् । 

टस जितेपछि ब्याटिङ गरेको यूएईले विना क्षति १ सय ९२ रन जोडिसकेको थियो । कप्तान इशा ओजा ५५ बलमा १४ चौका र ५ छक्कासहित १ सय १३ र थिर्था सतिश ४२ बलमा ११ चौका प्रहार गरि ७४ रन बनाएर ब्याटिङ गरिरहेका थिए । त्यसपछि वर्षा हुने सम्भावना बढेर जाँदा यूएई इनिङ्स टुंग्याएर जति सक्दो खेलमा नतिजा ल्याउन चाहान्थ्यो । तर सीमित ओभरको खेलमा ‘इनिङ्स डिक्लेयर’ गर्ने कुनै नियम रहेको छैन । त्यसपछि १ सय ९२ रनमै यूएईका सवै खेलाडी ‘रिटायर्ड आउट’ भए । 

यूएईले त्यसपछि कतारलाई ११.१ ओभरमा २९ रनमा अलआउट गरेर खेल १ सय ६३ रनले जितेको थियो । कतारका ७ खेलाडी ‘डक आउट’ भए । यूएईको इनिङ्समा पनि ८ खेलाडी ‘डक आउट’ भएका थिए । यसले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक शुन्यमा आउट हुने कीर्तिमान बनाएको छ । यूएईका ८ ब्याटर बल नै सामना नगरी ‘रिटायर्ड आउट’ भएका थिए । 

एजेन्सी

Link copied successfully