जुम्ला रारा अल्ट्रा म्याराथन : ५ किलोमिटरमा पदम र १० किलोमिटरमा हरिबहादुर प्रथम

वैशाख २७, २०८२

डीबी बुढा

Jumla Rara Ultra Marathon: Padam in 5 km and Hari Bahadur Pratham in 10 km

जुम्ला — जुम्ला खलंगामा शनिबारदेखि सुरु भएको जुम्ला रारा अल्ट्रा म्याराथनअन्तर्गत ५ किलोमिटर दौडमा पदमराज धिताल प्रथम भएका छन्। द्वितीयमा नविन चौधरी र तृतीयमा सरोज कटुवाल भए। ५ किलोमिटर दौडको महिला तर्फ विपना थारु प्रथम, सुनिता हमाल द्वितीय र सुनिता शाही तृतीय भएको कर्णाली खेलकुद क्लब, जुम्लाले जनाएको छ।

१० किलोमिटर दौडमा हरिबहादुर बोहोरा प्रथम, दीपेन्द्र बुढा द्वितीय र महेन्द्र कठायत तृतीय भएका छन्। महिला तर्फ संगीता बुढा प्रथम, सुरेशा बुढा द्वितीय र हिमाली भण्डारी तृतीय भए ।

जुम्ला रारा अल्ट्रा म्याराथनको अवसरमा ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौड आयोजना गरिएको थियो। ५ किलोमिटरमा १५५ जना र १० किलोमिटर दौडमा ३५५ जना धावक सहभागी थिए।

दस र पाँच किलोमिटर दौडमा विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन्।

कर्णालीको पर्यटकीय सम्भावनाहरू उजागर गर्न हरेक वर्ष जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना हुँदै आएको छ।

पाँच किलोमिटर दौडमा नगरप्रमुख कठायत र जिल्ला समन्वय समितिका प्रमुख आचार्य समेत दौडिएका थिए।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully