जनकपुरधाम — जनकपुरधाममा जारी तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताबाट सप्तरी बाहिरिएको छ । दोस्रो पटक पराजित भएसँगै समूह ‘बी’मा रहेको सप्तरी प्रतियोगिताबाट बाहिरिएको हो ।
शनिबारको दोस्रो खेलमा सप्तरी मझपरपुरसँग १० विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सप्तरीका लागि रोहन विकले २५ बलमा ३१ रन र विकास दास ‘ए’ले २४ बलमा २४ रन बनाए । यसबाहेक सप्तरीका कुनै ब्याटरले सम्मानजनक रन बनाउन सकेनन् ।
मझपरपुरका लागि बलिङ गरेका आशिष सिंह ४ ओभरमा १६ रन खर्चेर ३ विकेट, सचिनकुमार सिंह ४ ओभरमा २५ रन खर्चेर २ विकेट, हर्षकुमार ४ ओभरमा २० रन खर्चेर २ विकेट, अशुतोष कुमार र म्यानक कुमारले १–१ विकेट लिए । सानो योगफल पाएको मझपरपुरले १० ओभर ३ बलमै बिना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मझपरपुरका ओपनर ब्याटर रवि शर्मा र अलोक कुमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । रविले ३५ बलमा ७ छक्का र ५ चौकाको मद्दतले नटआउट ७२ रन बनाए भने अलोक ३० बलमा २ छक्का र ६ चौकाको मद्दतले ४३ रन बनाए । रवि प्रतियोगितमा शनिबारसम्मको खेलमा अर्धशतक तथा उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । खेलको म्यान अफ द म्याच मझपरपुरका रवि शर्मा घोषित भए ।
यस्तै, शनिबारको पहिलो खेलमा महोत्तरीलाई ३ विकेटले पराजित गर्दै सीतामढी विजयी भएको छ । महोत्तरीले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर महोत्तरीले १ सय २३ रनको लक्ष्य सीतामढीसमक्ष प्रस्तुत गरेको थियो । महोत्तरीका लागि नवीनकुमार यादव ३४ बलमा ४५ रन र युसुफ आलमले १४ रन बनाएका थिए । यीबाहेक महोत्तरीका अन्य ब्याटरले सम्मानजनक रन जोड्न सकेनन् । सीतामढीको तर्फबाट बलिङ गरेका गुड्डु ‘ए’ र अंकेश झाले २–२ विकेट लिए भने वैभव मिश्र, प्रियांशु कुमार, राघव आर्या र विशाल पाण्डेले १–१ विकेट लिए । १ सय २३ रनको लक्ष्य पछ्याएको सीतामढीले १९ ओभर १ बलमा ७ विकेट गुमाएर जित हासिल गरेको थियो । सीतामढीका लागि प्रियांश कुमारले सर्वाधिक ३५ बलमा ४५ रन, ओपनर उत्कर्ष पाठकले ३३ बलमा ३४ रन र राघव आर्याले ११ बलमा १८ रनको योगदान दिए ।
महोत्तरीका लागि बलिङ गरेका अभिषेक तिवारी ४ ओभरमा २७ रन खर्चेर ३ विकेट र धवनकुमार सहनीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खेलको म्यान अफ द म्याच सीतामढीका प्रियांश कुमार घोषित भए ।
