काठमाडौँ — प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टिम च्याम्पियन भएको छ । भुटानको थिम्पूमा भएको च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका हुन् ।
व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ४ दक्षिण एसियाली राष्ट्रका ८ टिम छन् । नेपालबाट बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का खेलाडीले भाग लिएका थिए ।
एमएमएसीका प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठका अनुसार स्रष्टा नापितले दोहोरो स्वर्ण जितिन् । उनले महिला ५७ केजीमुनि स्वर्ण जितिन् । अर्को स्वर्ण खुला तौल समूहमा हात पारिन् । ५७ केजीमा खेल्ने प्रतिस्पर्धीले खुला तौलमा पनि खेल्न पाउने प्रावधान थियो ।
पुरुष ३६ केजीमुनि साइमन तामाङ र ४० केजीमुनि सदिन तामाङले स्वर्ण जिते । महिला ३६ केजीमुनि जेनिशा वाइबाले रजत र पुरुष ५० केजीमुनि जुविन महर्जनले कांस्य जितेका छन् ।
