काठमाडौँ — नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले युटीआर प्रो टेनिस टुरअन्तर्गत क्यालिफोर्नियामा भइरहेको स्टकटन ओपनमा खेलिरहेका छन् ।
इभ जिमरमन टेनिस सेन्टरमा समूह ‘सी’ अन्तर्गत पाँचौं राउन्डमा अभिषेक अमेरिकी खेलाडी व्राज पटेलसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भए । पहिलो सेट ६–४ ले जितेका अभिषेकले त्यसपछि ६–२, ६–१ ले सेट गुमाएका थिए । अब अभिषेकले पाँचौं स्थानको प्लेअफका लागि अमेरिकाकै हार्डी ओवेनसँग प्रतिस्पर्धा गर्नेछन् । हार्डी पनि आफ्नै देशका रान अमरसँग सोझो सेटमा पराजित भएका थिए ।
सन् २०२१ देखि युटीआर प्रो टेनिस टुर खेल्न थालेका अभिषेकले त्यसका आधा दर्जनभन्दा बढी प्रतियोगिता सहभागिता जनाइसकेका छन् ।
व्यावसायिक टेनिस प्रतियोगिताअन्तर्गत युटीआर प्रो टेनिस टुरमा विश्वका शीर्ष ३ हजार खेलाडी प्रतिस्पर्धामा संलग्न हुन्छन् । त्यसैमध्ये नेपालका एक्लो खेलाडीका रूपमा अभिषेक रहेका छन् ।
