गोदावरी मेयर कपमा तारकेश्वर र कीर्तिपुरको बराबरी

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Tarakeshwar and Kirtipur draw in Godavari Mayor's Cup

काठमाडौँ — तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् ।

गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शुक्रबार तारकेश्वर र कीर्तिपुरले २–२ को बराबरी खेलेका थिए । तारकेश्वरबाट दुवै गोल रविन चौलागाईंले गरे । कीर्तिपुरका सन्जोग महर्जन र सुगम भण्डारीले १–१ गोल गरे । समूह ‘डी’ मा तारकेश्वरले २ खेलमा २ अंक र कीर्तिपुरले एक खेलमा १ अंक जोडेका छन् ।

खेलको १८ औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको हो । ४० औं मिनेटमा रविनले तारकेश्वरबाट बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी सामयमा रविनले व्यक्तिगत दोस्रो गोल गर्दा तारकेश्वर २–१ ले अगाडि बढ्यो । दोस्रो हाफ लगत्तै सुगमले खेल २–२ को स्थितिमा ल्याएका थिए । खेलमा सुसन बस्नेत घाइते भएका थिए । उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

आइतबार हुने कीर्तिपुर र कोन्ज्योसोमबीचको खेलले यो समूहबाट सेमिफाइनल पुग्ने टोलीको छिनोफानो गर्नेछ ।

शनिबार गोदावरी मेयर कपमा फरक फरक स्थानमा ४ खेल हुनेछ । दक्षिणकाली नगरपालिकाले चन्द्रागिरि नगरपालिकासँग गोदावरी रंगशालामा प्रतिस्पर्धा गर्नेछ । गोदावरी नगरपालिका र बाग्मती गाउँपालिका, ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका तथा मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully