रुपेशले जिते कोप चेस उपाधि

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Rupesh won the Cop Chess title

काठमाडौँ — नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले शुक्रबार प्रभु महालक्ष्मी दोस्रो कोप ओपन र्‍यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

रुपेश ९ चरणको खेलमा ८ अंक, प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बनेका हुन् । राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी लाइभ इन्स्योरेन्सको सहयोगमा आयोजित प्रतियोगिता विजेताले १० लाखबराबरको आवधिक जीवन बिमा र ४० हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा भएको स्पर्धामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्टसहित दोस्रो स्थानमा रहे । क्षितिजले ७ लाखबराबरको आवधिक बिमासहित २५ हजार पुरस्कार जिते । अन्य आठ खेलाडीले समान ७ अंक जोडेर शीर्ष दसौं स्थान ओगटेका छन् । त्यसमा सीएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेस्रो स्थान प्राप्त गरे । उनले ५ लाखबराबरको बिमा र १५ हजार पुरस्कार पाएका छन् । अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा आयोजित प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष फुयाल, भारतका आशुतोष यादव, हर्कबहादुर चोङवाङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथोदेखि दसौं स्थानमा रहे ।

महिलातर्फ ५.५ अंकसहित शान्ति धिमाल विजेता भइन् । उनले ७ हजार पाइन् । ५ अंक जोडेकी विनिता कपालीले दोस्रो भएर ६ हजार र सिन्दिरा जोशीले तेस्रो भएर ५ हजार पाएका छन् । उत्कृष्ट नवप्रवेशीमा स्पर्स अर्याल, सिनियर खेलाडीमा बद्रीलाल नेपाली, १८ सय रेटिङमुनि सुरज सिंह, १६ सयमुनि उज्ज्वल दाहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ हार्दिक पन्त, बिमातर्फ गोविन्द नेपाल र सहकारीतर्फ रामशरण तिमल्सिनाले पुरस्कार जिते । भेट्रान चेस खेलाडी सीताराम अग्रवाल, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, भिज्युअल इडिटर मुक्ति श्रेष्ठ, फोटोग्राफर देवु राजवंशीलाई सम्मान गरिएको थियो ।

विजेतालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल, प्रभु महालक्ष्मी जीवन विमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पुरस्कार प्रदान गरे ।

कान्तिपुर

Link copied successfully