पीएम कप भलिबल पोखरामा हुने

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

PM Cup Volleyball will be held in Pokhara

काठमाडौँ — नेपाल भलिबल संघले पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग पोखरामा आयोजना गर्ने भएको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ८ देखि १५ सम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा प्रतियोगिता गर्ने जानकारी दिएको हो । नियमित रूपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको राखेप कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपालि प्रतियोगिता पोखरामा गर्न लागिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ । महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी, पुलिस क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् । दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउँदा विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार पाउनेछन् । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने पाउनेछ ।

प्रतियोगितामा हरेक टिमले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । संघका तर्फबाट अध्यक्ष चन्द र हाम्रो खेलकुदका सुबास हुमागाईंले सम्झौतामा गरे ।

लिगको ३२ लाख पुरस्कार रहेको छ प्रतियोगिताको अनुमानित बजेट ९० लाख रहेको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग रहनेछ । अध्यक्ष चन्दले टिकटबाट ३०–३५ लाख र प्रायोजकबाट आर्थिक सहयोग आउने संघको अपेक्षा रहेको बताए ।

कान्तिपुर

Link copied successfully