कोप चेसमा पुरुषोत्तम र आशिष अगाडि

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Purushottam and Ashish ahead in coop chess

काठमाडौँ — प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा ५ राउन्डको खेल सकिँदासम्म सीएम पुरुषोत्तम सिलवाल र आशिष फुयाल ५ अंक जोडेर अगाडि छन् ।

पुरुषोत्तमले सीएम पुरुषोत्तम चौलागाईं र आशिषले प्रकाशचन्द्र नेपाललाई हराए । स्पर्धामा एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जनले समान ४.५ अंक बनाएर संयुक्त दोस्रो स्थान हासिल गरे ।

नेपाल च्याम्पियन रुपेश जैसवाल र क्षितिज भण्डारीबीचको खेल बराबरीमा सकियो भने सुरोजले कमल श्रेष्ठमाथि विजय पाए । भारतीय खेलाडी आशुतोष यादव ४ अंक बटुलेर तेस्रो स्थानमा छन् । नेपालका राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआईएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सीएम भगवतीप्रसाद शर्मा, बद्रीलाल नेपालीले समान ४ अंक पाएका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी जीवन बिमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले चेस खेलेर प्रतियोगिता सुरु गरेका थिए । प्रतिस्पर्धामा प्रकाशचन्द्र नेपाल, सीएम पुरुषोत्तम चौलागाईं, हर्कबहादुर चोङवाङ, उज्ज्वल दाहाल, धिरेन राई, बेदु सारु मगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले ४ अंक जोडेका छन् ।

महिलातर्फ नेनसल बी च्याम्पियन बिनिता कपाली र नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी अगाडि छन् ।

प्रतियोगितामा नेपाल र भारतका १ सय २४ खेलाडी प्रतिस्पर्धी छन् । विजेताले ४० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । विजेताले एक वर्षका लागि १० लाख रुपैयाँबराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् । दोस्रोले २५ हजार र ७ लाखबराबर बीमा तथा तेस्रो हुनेले १५ हजार र ५ लाखबराबरको एक वर्ष अवधिको बीमा पाउनेछन् ।

कान्तिपुर

Link copied successfully