काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को बिहीबार सम्पन्न २० औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
राजधानीमा सम्पन्न साधारणसभाबाट निरञ्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । अध्यक्ष, महासचिव, सचिव र सदस्य पदमा निर्वाचन भएको थियो । प्रथम उपाध्यक्ष रहेका अधिकारीले प्रत्याशी प्रकाश तिमल्सिनालाई हराएका थिए । महासचिवमा अञ्जन खड्का र सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । खड्काले राजु घिसिङ र ठकुरीले गोविन्दराज नेपाललाई हराए ।
प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सन्जिव सिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने मुना कार्की र महिला सदस्यमा नमिता दाहाल निर्विरोध चुनिएका थिए ।
तीन सदस्य पदका लागि ५ सदस्य प्रत्याशी थिए । त्यसमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी विजयी भए । भूपेश उपाध्याय र विनयज्योति सापकोटा पराजित भए । बाँकी सदस्यहरू कार्यसमितिले चयन गर्नेछ ।
निर्वाचनअघि २० औं साधारण सभाले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।
साधारणसभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, हानका उपाध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, महासंघ एसोसिएट सचिव वैकुण्ठराज पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली खेलकुद पत्रकारितामा मञ्चको भूमिका विशेष रहेको र त्यसलाई अझै फराकिलो पार्नुपर्ने धारणा राखेका थिए । निवर्तमान अध्यक्ष दुर्गानाथ सुवेदीले दुई कार्यकाल मञ्चको नेतृत्व गर्ने अवसर दिएकामा सबैप्रति आभार व्यक्त गरे ।
