क्रिकेटर कविता एसपीएको ब्रान्ड एम्बासडर

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Cricketer Kavita is the brand ambassador of SPA

धनगढी — सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । कलेज र कविताबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो ।

कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौतापत्र हस्तान्तरण गर्दै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न यो कदम चालेको बताए । उनले खेल क्षेत्रको विकासमा सुदूरपश्चिमका संघ–संस्थाले यस्तै योगदान दिनुपर्ने उल्लेख गरे ।

ब्रान्ड एम्बासडर बनेकी कविताले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको बताइन् । उनले सन् २०१९ मा महिला राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय खेल चीनविरुद्ध डेब्यू गरेकी थिइन् ।

उनले टी–२० अन्तर्राष्ट्रियका ५२ खेल खेलिसकेकी छन् । सन् २०२२ मा युगान्डासँगको टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै ५ खेलमा ७ विकेट लिएकी थिइन् । उनले हालसम्म टी–२० आईमा २५३ रन र ४३ विकेट लिएकी छन् ।

नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने कविता अछामको साँफेबगरमा जन्मिएकी हुन् । उनले कैलालीको धनगढीस्थित मामाघरमा बसेर स्कुल पढेकी थिइन् । १० वर्षको उमेरमा क्रिकेटप्रति रुचि बढ्दै गएपछि उनले प्रशिक्षण सुरु गरेकी हुन् ।

क्षेत्रीय टिम हुँदै राष्ट्रिय टिममा स्थान बनाएकी कविताले हालसम्म चार राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । उनी राष्ट्रिय टोलीकी अलराउन्डर हुन् ।

कलेजले गत कात्तिकमा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशीलाई पनि ब्रान्ड एम्बासडर बनाइसकेको छ । उनी धनगढी क्रिकेट एकेडेमी (डीसीए) का उत्पादन र एसपीए कलेजका पूर्व विद्यार्थीसमेत हुन् ।

कलेजले खेलाडीको सम्मानमा उनीहरूको खेलजीवन सहज बनोस् भन्ने हेतुले यो कार्य गरेको र उनीहरूले सुदूरपश्चिमको टिमको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलुन्जेल सम्झौता लागू हुने कलेजले जनाएको छ ।

कान्तिपुर

Link copied successfully