गोदावरी मेयर कप : महालक्ष्मीसँग बागमतीको पराजय

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Godavari Mayor's Cup: Bagmati defeats Mahalakshmi

काठमाडौँ — बागमती गाउँपालिका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरस्थित च्यासल रंगशालामा बुधबार महालक्ष्मी नगरपालिकासँग ५–१ ले पराजित हुँदै बागमती प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

 जितबाट महालक्ष्मीले सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ । महालक्ष्मीका सिद्धान्त अधिकारीले दुई गोल गरे भने रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले एक–एक गोल गरे । बागमतीका दिलीप घलानले गोल फर्काए ।

खेलको ३६ औं मिनेटमा रामकृष्णको गोलबाट महालक्ष्मीले अग्रता लियो । ४६ औं मिनेटमा अमृतले अग्रता दोब्बर बनाए । सनमले ६७ औं र सिद्धान्तले ७७ औं मिनेटमा गोल गरेका थिए । सिद्धान्तको गोल पेनाल्टीमा थियो ।  दिलीपले ७९ औं मिनेटमा बागमतीबाट गोल फर्काए । इन्ज्युरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गरेर महालक्ष्मी ५–१ ले अगाडि बढ्यो । इन्ज्युरीमै आयुष लामा पेनाल्टीमा चुक्दा बागमतीले गोल अन्तर कम गर्ने मौका गुमायो ।

पहिलो खेलमा आयोजक गोदावरी नगरपालिकासँग ६–१ ले पराजित महालक्ष्मीले अब ललितपुर महानगरपालिकासँग खेल्नेछ । अघिल्लो खेलमा ललितपुर महानगरसँग ७–३ गोलले पराजित बाग्मतीले अन्तिम खेलमा गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

समूह ‘ए’ मा गोदावरी, ललितपुर महानगर र महालक्ष्मीको ३–३ अंक छ । गोल अन्तरमा गोदावरी शीर्षस्थानमा छ ।

बिहीबार तीन खेल हुनेछ । गोदावरी बहुउद्दश्यीय रंगशालामा काठमाडौं महानगर र मध्यपुर थिमि नगरपालिका, चन्द्रागिरि र कागेश्वरी–मनोहरा नगरपालिका तथा आयोजक गोदावरी र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully