क्लब गल्फ भ्यालीले इन्डोर गल्फ एकेडेमी सञ्चालनमा ल्यायो

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Club Golf Valley launched an indoor golf academy

काठमाडौँ — क्लब गल्फ भ्यालीले इन्डोर गल्फ एकेडेमी सुरु गरेको छ। गल्फ खेल धनाढ्यले मात्रै खेल्ने खेल हो भन्ने धारणा रहेको अवस्थामा उक्त धारणा तोड्नका लागि कागेश्वरी मनहरा नगरपालिका–गोठाटारमा गल्फ कोर्स सञ्चालनमा ल्याइएको सञ्चालक राधेश्याम थापाले जानकारी दिएका छन्।

गल्फर थापाका अनुसार गल्फ उच्च वर्गका मानिसहरूले मात्रै खेल्ने धारणा चिर्नका लागि सबै वर्गका व्यक्तिहरूलाई लक्षित गरेर कोर्स सुरु गरिएको हो। थापाका अनुसार एकेडेमी विशेष गरी बालबालिकालाई गल्फतर्फ आकर्षित गर्न स्थापना गरिएको हो। उनले एकेडेमी गल्फको नियम र नीति सिकाउने पहिलो आधार बन्ने दाबी गरेका छन्।

उनले यस एकेडेमीबाट तालिम लिएपछि आऊटडोर कोर्समा जान योग्यता हासिल गर्न सकिने बताए। थापाका अनुसार एकैचोटि गोकर्ण वा रोयल नेपाल गल्फ क्लब जाँदा खेलाडीलाई गाह्रो हुने भएकाले आधारभूत तालिम यहीँबाट लिएर जान सहज हुनेछ। 

उनले भने, 'एकैचोटी गोकर्ण वा रोयल नेपाल गल्फमा जाँदा खेलाडीलाई गाह्रो हुन्छ । सिक्न समय लाग्छ । यहाँ गल्फ कोर्सको बेस बनाएर जाँदा सजिलो हुन्छ ।'

Club Golf Valley launched an indoor golf academy

थापाले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी विशेष प्याकेजसहित कोर्स सुरु गरिएको जानकारी दिए । उनका अनुसार १५ वर्ष मुनिका बालबालिकाका लागि ५० बलको शुल्क २०० रुपैयाँ र वयस्कहरूका लागि ५० बलको शुल्क २५० रुपैयाँ तोकिएको छ। एकेडेमीमा सिक्न जाँदा स्टिक, बललगायतका खेल सामाग्री लानु पर्दैन ।

हप्ताभर सञ्चालनमा रहने एकेडेमी करिब २ रोपनी क्षेत्रफलमा फैलिएको छ भने यसको अधिकतम दूरी ४६ यार्ड रहेको छ।

त्यस्तैगरी, एकेडेमीले एडभान्स खेलाडीहरूलाई लक्षित गर्दै सिमुलेटर गल्फको समेत व्यवस्था गरेको छ। थापाका अनुसार वर्षायाममा बाहिरी मैदान गिजगिज हुने भएकाले सिमुलेटरमार्फत खेल अभ्यास गर्न सकिने, डेटा लिन सकिने तथा साथीहरूसँग प्रतिस्पर्धा गर्न सकिने सुविधा एकेडेमीमा उपलब्ध छ। सिमुलेटर प्रयोगका लागि ५० बलको शुल्क ५०० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully